मौन पीडाः अमेरिकी नेपाली समुदायमा घरेलु हिंसा र मानसिक स्वास्थ्य
–आरसी पन्त–
भर्जिनियाको मनसास पार्कबाट हराएकी २८ वर्षीय नेपाली महिला ममता काफ्ले भट्टको घटनाले अमेरिकी नेपाली समुदायमा रहेको एक गम्भीर समस्यालाई उजागर गरेको छ– त्यो हो घरेलु हिंसा र मानसिक स्वास्थ्य ।
ममता पाँच दिनदेखि हराइरहेकी थिइन्, तर उनका श्रीमान नरेश भट्टले ५ दिन पछि हराएको रिपोर्ट गरे । यो लेख लेख्दासम्म यस घटनाले थप जटिलता लिएको छ, जब नरेश ममताको शव लुकाएको आरोपमा गिरफ्तार परी हाल प्रहरी हिरासतमा छन् । यो घटना अझै दिनप्रति दिन थप जटिल बन्रे क्रममा भए तापनि यसले हामी नेपाली आप्रवासी समुदायहरूमा महिलाहरू र पुरूषहरूले सामना गर्ने घरेलु हिंसा र मानसिक स्वास्थ्यका खतराहरू र चुनौतीहरूको वास्तविकता प्रष्ट झल्काएको छ ।
अमेरिकी नेपाली समुदायमा घरेलु हिंसाको अवस्था
म आफू १८ बर्षदेखि कोलोराडोमा बस्दै गर्दा मैले यहॉंको नेपाली समुदायका सदस्यहरूले घरेलु समस्याहरूमा जुझ्नुपर्ने कठिनाइहरू प्रत...








