-लालगोपाल सुवेदी-
हरेक श्वासको झोक्का
हरेक प्रश्वासको गहिराइ
फरक फरक नै हुन्छ
यता अक्सिजन हुन्छ
उता कार्बनडाइअक्साइड रुन्छ
हरेकको दुईवटा अनुहार छन् हाम्रा
बतास उही हो
बतास उही होइन भनेझै
एउटा आकृति ऐनाले देखाउँछ
एउटा आकृति आफैलाई मात्र थाहा हुन्छ
एउटा आकृति सुन्दर पहिरनले छेक्छ
एउटा आकृति तथाकथित अहमले छेक्छ
नाङ्गो आँखाले देखेको नाङ्गै हुन सक्छ
ऐनाले देखाएको ह्वाङ्गै हुन सक्छ
हामी त नाट्यमन्चका पात्र मात्र हौं
देख्नका लागि भन्दा पनि
देखाउनकै लागि
नाटकहरू बुनिन्छन्
कपुरी क खरायो ख कै लहरमा राम्रो म पनि छ
श्राप नै पनि बाह्य कानहरूमा सुमधुर गीतजस्तै सुनिन्छ
त्यो घर त्यस्तै हो
यात्रु भवन देख्छ
जगका मुसाहरू देख्दैन
कवि र कवितामा पनि
यस्तै भिन्नताहरू भेटिन्छन्
बुद्ध वा जिससकै बारेमा पनि
मज्जैले बहस गर्ने बेला आएको छ
लाटो कोसेरोलाई रातैले मोहनी लाएको छ
दिवास्वप्न घामले तिल्मिलाएको छ
पिट्युटरी ग्ल्याण्ड किन र केका लागि ?
आँखा चिम्लनु नै पर्छ
आफूले आफैलाई राम्ररी नियाल्न त
मुटु पनि सहजै देखिएला इकोकार्डियोग्रामबाट
भेटिएका छन् मन्दिर मस्जिदभित्रै कति कति पापहरू
जप्नेहरू कति कति यशु,अल्लाह , खुदा,कृष्ण , राम
असफल भएका छन् पापहरू पखाल्न भगवान्
महङ्गो छ रेबन चस्मा
सुनै सुनका दाँतले हाँसे पनि
हाँसो एक भ्रम
मगमग बासना , किमती पहिरन
मन्त्रभन्दा पनि सुमधुर वचन
भ्रम
केबल भ्रम ।
-केन्द्रीय अध्यक्ष, अनेसास ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्