२५ कार्तिक २०८३, बुधबार

नेवार समुदायले मनाए आफ्नो मौलिक तथा परम्परागत पर्व म्हःपूजा

कोलोराडोखबर संवाददाता , November 11th, 2026

नेपाल । नेवार समुदायले आफ्नो मौलिक तथा परम्परागत पर्व म्हःपूजा मंगलबार विधिपूर्वक मनाएका छन्।

नेपाल संवतको नयाँ वर्षका अवसरमा नेवार समुदायले आफ्नो शरीर तथा अन्तरात्माको पूजा गरी म्हःपूजा मनाएका हुन्।

नेपाल भाषामा ‘म्ह’ को अर्थ शरीर हुन्छ। त्यसैले म्हःपूजाको शाब्दिक अर्थ शरीरको पूजा भन्ने लाग्छ। यसलाई आत्मा वा अन्तरात्माको पूजा गर्ने संस्कृतिका रूपमा पनि लिइन्छ। म्हःपूजामार्फत आफूभित्रको नकारात्मक ऊर्जा हटाएर नयाँ ऊर्जा प्राप्त होस्, आगामी दिनमा शुद्ध मनले काम गर्न सकियोस् र कसैलाई हानि नपुगोस् भन्ने कामना गरिन्छ।

म्हःपूजा गर्दा सर्वप्रथम पूजा गर्ने व्यक्तिको आसनअगाडि मण्डल (म्हःमण्डप) बनाइन्छ। व्यक्तिको प्रतीकका रूपमा बनाइने उक्त मण्डलमा विभिन्न सामग्री राखेर पूजा गर्ने परम्परा छ। मण्डलमा पानी र तेलका चक्र बनाउनुका साथै जीवनका विभिन्न अवस्थाको प्रतीकस्वरूप सामग्री सजाइन्छ। अन्धकार नाश र उज्यालोको प्रतीकका रूपमा लामो बत्तीसमेत बाल्ने गरिन्छ।

म्हःपूजामा शुद्ध चामल (आखे), कालो मास, भटमास, धान, लावा, फूललगायत सामग्री प्रयोग गरिन्छ। त्यस्तै, दैवी शक्तिको प्रतीकका रूपमा बत्ती बालेर पूजा गरिन्छ। यी सामग्रीलाई मानिसको शरीर र जीवनसँग जोडेर हेर्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्