२३ कार्तिक २०८३, सोमबार

आउनुस् युवाहरू, देश हाँक्नुस्: अबको जिम्मेवारी तपाईंको काँधमा

कोलोराडोखबर संवाददाता , November 9th, 2026

-खेम कार्की-
समाज र राजनीतिलाई पछिल्लो समय नकारात्मक दृष्टिकोणले हेर्ने र यो केवल एउटा “फोहोर खेल” हो भन्ने भ्रम फैलाउने परिपाटी बढेको छ। एकअर्कालाई हेच्याउने, घृणा फैलाउने र नेताहरूलाई मात्र दोष दिएर पन्छिने प्रवृत्तिले समाजमा भयावह अवस्था सिर्जना गरिरहेको छ। तर, देश र समाजको व्यवस्था स्वयंमा फोहोर होइन; यदि यसमा कतै फोहोर जमेको छ भने त्यसलाई बाहिरै बसेर सराप्नुभन्दा भित्र छिरेर सफा गर्नु आजको आवश्यकता हो। यसै सन्दर्भमा, युवाहरू देश निर्माणको मूलधारमा आउनुपर्ने र जिम्मेवारी सम्हाल्नुपर्ने मुख्य कारणहरूलाई निम्न अनुसार प्रस्तुत गरिएको छ:

नकारात्मकता र घृणाको अन्त्य:
राजनीति र समाजलाई सधैं दुर्गन्धित खेलका रूपमा प्रस्तुत गर्ने र फाटो ल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ। घृणाको वातावरणलाई हटाएर परिवर्तनका हरेक उपलब्धिलाई सकारात्मक रूपमा आत्मसात गर्न आवश्यक छ।

इतिहास र अग्रजहरूको योगदानको उच्च सम्मान:
वि.सं. २००७ को राणा शासन विरोधी आन्दोलन, अन्तर्राष्ट्रिय युद्धहरूमा देशको रक्षा गर्ने वीर पुर्खाहरू, २०४६ को पञ्चायत विरोधी आन्दोलन र २०६२/६३ को जनआन्दोलनलगायत देशका हरेक परिवर्तनमा सबै पुस्ताले पुऱ्याएको योगदानलाई सधैं कदर र सम्मान गर्नुपर्छ।

सामाजिक सद्भाव र “मर्दाका मलामी, जिउँदाका जन्ती” को भावना संरक्षण:
दिनरात नभनी समाजको सेवामा खट्ने, दुःख-सुखमा साथ दिने अग्रज राजनीतिज्ञ तथा समाजसेवीहरूको भावनामाथि खेलबाड गर्नु हुँदैन। उहाँहरूको योगदानको कदर गर्दै समाजमा आपसी एकता र सामाजिक सद्भाव कायम राख्नुपर्छ।

भ्रष्टाचार र अपराधविरुद्ध राष्ट्रिय भावना:
भ्रष्टाचार वा गलत क्रियाकलापमा संलग्न व्यक्ति कुनै दल वा समूहको हुँदैन, त्यो केवल अपराधी हुन्छ। व्यक्तिले गरेको गल्तीलाई संस्था वा सिद्धान्तसँग नजोडी कानुनी दायरामा ल्याउनुपर्छ र राष्ट्रियताको भावनालाई सर्वोपरि मान्नुपर्छ।

वैदेशिक अनुभव, ज्ञान, सीप र पुँजीको एकीकृत उपयोग:
विदेशमा रहँदा नेपालीहरूले हासिल गरेको अध्ययन, सिकेको ज्ञान, सीप र साथमा ल्याएको पुँजीलाई एकीकृत रूपमा राष्ट्रहितका लागि सदुपयोग गरिनुपर्छ। विदेशबाट फर्किएका नेपालीहरूको क्षमता र अनुभवलाई राज्यले उचित सम्बोधन गर्दै उनीहरूले नवयुवाहरूसँग सहकार्य गरेर काम गर्न सक्ने सहज वातावरण बनाइदिनुपर्छ। यसले युवाहरूमा सकारात्मक ऊर्जा भर्नुका साथै उद्यमशीलता, श्रमको सम्मान र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

‘जेन्जी’ चेतना र युवा सहभागिता:
‘जेन्जी’ मुभमेन्ट र पछिल्लो समय युवाहरूमा बढेको सामाजिक-राजनीतिक चासो सकारात्मक छ। अब यो चासोलाई टिप्पणीमा मात्र सीमित नराखी प्रत्यक्ष सहभागिता, अवसर र जिम्मेवारीमा बदल्नुपर्छ।

स्थानीय नेतृत्व र जिम्मेवारी सम्हाल्ने अवसर:
आउँदै गरेको वडा, पालिका र स्थानीय निकायहरूको निर्वाचन युवाहरूका लागि नेतृत्व सम्हाल्ने उपयुक्त अवसर हो। अग्रजहरूको अनुभवलाई सम्मान गर्दै र समाजलाई एकताबद्ध राख्दै वडादेखि नगरपालिकासम्म युवाहरूले प्रत्यक्ष नेतृत्व लिन अघि सर्नुपर्छ।

देश र समाजलाई टाढाबाट हेरेर सराप्नुभन्दा आफैं अघि सरेर फोहोर सफा गर्ने, उद्यमशीलता बढाउने र समाजलाई जोड्ने अभियानमा लाग्नु आजको आवश्यकता हो।

आउनुस् युवाहरू, देश हाँक्नुस्!

-महासचिव, रिटर्नी फेडेरेसन नेपाल ।

प्रतिक्रिया दिनुहोस्