३ जेष्ठ २०८३, आईतवार

कविता: मेरो देश

कोलोराडोखबर संवाददाता , May 16th, 2026

-सुदीपभद्र खनाल-

टल्केको दिव्य आभा चमचम हिमका टाकुरी ज्योति जस्तो
झल्केको नैनमा झैँ पृयतम मनका माझमा मोतिजस्तो
नेपाली प्राञ्ज उम्दा महक र गरिमा कीर्ति गाथा विशाल
ज्योत्स्नाले धप्प बल्दो भुवनभर छ यो देश जो वेमिशाल

धर्तीमा वीरताको घनघन नगरा घन्कने घन्घनाई
चम्केझैँ शीत चोखोसरि श्रम भवमा चम्कन्ने चम्चमाई
नेपाली भावनामा पृय र भर जगत् व्याप्त सच्चा ईमान
आभाले दिव्य धप्धप् भुवनभर छ जो देश देदीप्यमान

जन्मेको वुद्द सीता जनक अरनिको व्यासको पूज्य देश
हज्जारौँ भेष भूषा मृदु लय र कला रीत भाषा अनेक
ज्यूँदो जो विश्वमानै अनुपम जनको संस्कृति स्पृहता छ
जादूझैँ दिव्य शोभा प्रथम नजरमै लोभलाग्दो छटा छ

ओच्छ्याएझैँ छ लाग्दो समथर हरियो फाँट बारी गलैँचा
अग्ला ती भीर पाखा कुसुम कलि लता दिव्य लाग्छन् फलैँचा
धर्तीमै स्वर्ग झार्ने प्रकृति वन नदी गौरवी लेक हाम्रा
हेर्दैमा लठ्ठ पार्ने मृदु महकभरा शैल बेछट्ट राम्रा

पैह्रेकी माथ ढाकी मगमग हिँउका शैललेझैँ गुराँस
राराका साथ फेवा नजर दुइ लिई दिव्य आलोक साथ
मस्केकी शुभ्र लज्जायुत नव दुलही झैँ थपी दिव्य शोभा
लाग्ने यो देश मेरो अप्रतिम भव हो या स्वयं स्वर्ग हो वा !

-केन्द्रीय उपाध्यक्ष, अनेसास ।

प्रतिक्रिया दिनुहोस्