२८ बैशाख २०८३, सोमबार

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने, ‘संकल्प’ नाम दिएर तयारी सुरु

कोलोराडोखबर संवाददाता , May 11th, 2026

नेपाल । गैरआवासीय नेपाली संघ एनआरएनएको १७औं युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने भएको छ ।

आयरल्याण्डको डब्लिनमा अगष्ट १०–१२ तारिखमा आयोजना हुने सम्मेलनको ‘संकल्प’ नाम दिएर तयारी सुरु गरिएको युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बुले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

डबलिन डिक्लेरेसन जारी गर्ने मुख्य लक्ष्यसहित आयोजना हुन लागेको यस सम्मेलनले विशेषगरी नागरिकताको निरन्तरता, वैदेशिक लगानी र संस्थागत सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राखेको उनको भनाइ छ ।

सम्मेलनमा दोहोरो नागरिकता, नागरिकताको अधिकार, एनआरएन हेडको विषय र गोर्खा भेटरन्सको अधिकारका बारेमा पैरवी गरिनेछ। साथै, डायस्पोराको राजनीतिक र नागरिक सहभागिताका विषयमा पनि बहस हुनेछ।

डायस्पोरामा रहेको पुँजीलाई कसरी नेपालको जलविद्युत, पर्यटन, कृषि र प्रविधि क्षेत्रमा परिचालन गर्ने भन्ने विषयमा स्पेसिफिक छलफल हुनेछ। विशेषगरी अध्यक्षको १० अर्बको फ्ल्यागसिप कार्यक्रमसँग जोडेर लगानीका क्षेत्र पहिचान गरिनेछ ।

तत्कालीन लाभभन्दा पनि दीर्घकालीन आर्थिक वृद्धिलाई कसरी सस्टेन गर्ने भन्नेमा केन्द्रित रहेर २०३० एक्सन रोडम्याप निर्माण गरिनेछ ।

सम्मेलनले संस्थाभित्रको आन्तरिक लोकतन्त्र र संरचनात्मक सुधारलाई पनि महत्त्व दिएको छ। अदालतको फैसला र पछिल्लो परिस्थितिपछि एनआरएनए अहिले इन्स्टिट्युसनल रिफर्मु र स्ट्रेटेजिक रिस्ट्रक्चरिङको प्रक्रियामा रहेको छ । यस पटक डेलिगेट्स प्रणाली र भोटिङ सिस्टममा आमूल परिवर्तन गरी सबै पञ्जीकृत सदस्यहरूले मतदान गर्न पाउने विधान कार्यान्वयनको दिशामा छलफल हुनेछ ।

युरोपको सन्दर्भमा सेफ माइग्रेशन अत्यन्तै महत्वपूर्ण रहेको भन्दै यस विषयमा छुट्टै कार्यदिशा तय गरिनेछ। साथै, दोस्रो पुस्ताका युवाहरू र महिलाहरूलाई संस्थाको मूलधारमा कसरी ल्याउने र उनीहरूलाई कसरी सशक्त बनाउने भन्ने विषय सम्मेलनको कोर अब्जेक्टिभमा रहेको छ ।

सम्मेलनलाई सफल पार्नका लागि एनआरएनए आइसीसी अध्यक्ष डा. हेमराज शर्माले सवैको साथले यस्ता इभेन्टहरु सफल हुने विश्वास व्यक्त गरे । त्यसमा आइसीसीको सक्रिय सहभागिता रहने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी महासचिव डा चिरञ्जीवि खड्काले सवै कुराहरु पारदर्शी तरिकाले सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । एनआरएनए उपाध्यक्ष रामशरण सिम्खडा, लोक दाहाललगायतका पदाधिकारीको उपस्थिति रहेको भर्चुअल पत्रकार सम्मेलनको सहजीकरण युरोप महिला संयोजक बाबा राजेश्वरी थापाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्