३ जेष्ठ २०८३, आईतवार

अमेरिका र चीनबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको राष्ट्रपति ट्रम्पको दाबी

कोलोराडोखबर संवाददाता , May 16th, 2026

नेपाल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गर्नुभएको छ ।

विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा केन्द्रित शिखर वार्तापछि ट्रम्पले भ्रमणलाई ‘धेरै सफल’ भएको प्रतिक्रिया दिनुभएको हो ।

बेइजिङमा आयोजित महाशक्ति शिखर सम्मेलनको अन्तिम चरणको वार्तापछि ट्रम्पले दुवै देशका लागि लाभदायक हुने खालका महत्त्वपूर्ण व्यापारिक समझदारी बनेको बताउनुभयो ।

फरबिडन सिटी नजिकै रहेको चिनियाँ केन्द्रीय नेतृत्व परिसर झोङनानहाइको बगैँचामा सीसँग सँगै हिँड्दै उहाँले ‘दुवै मुलुकका लागि निकै राम्रो हुने व्यापार सम्झौताहरू सम्पन्न भएको’ उल्लेख गर्नुभयो ।

ट्रम्पले कृषि, उड्डयन, ऊर्जा र आर्टिफिसियल इन्टेलिजेन्सलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित बेइजिङ भ्रमण गर्नुभएको थियो । साथै मध्यपूर्वको तनावपूर्ण अवस्थादेखि विश्वव्यापी रणनीतिक मतभेदसम्मका विषयमा संवाद कायम राख्ने प्रयास पनि भ्रमणको प्रमुख एजेन्डामा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्