–यशु श्रेष्ठ–
“नानु साँझै पर्न लागिसक्यो । हिँड, अब घर जानुपर्छ ।” घाँसको भारी बान्दै आमाले नानुलाई भन्नुभयो ।
“आमा, यी अम्बाहरु लगेर म साथीहरुलाई बाँड्छु । अलि धेरै अम्बा लगेँ भने साथीहरुलाई धेरै धेरै दिन पाइन्छ नि त ।” नानुले अम्बाको बोटमा झटारो हान्दै भनिन् ।
‘पुग्छ के यति भए । अब हिँड । बाटैमा रात पर्छ अनि थाहा पाउलाऊ ।’ आमाले पनि दुईचारवटा अम्बा टिपिदिनु भयो । नानुले सबै अम्बा बोकिन् । काठको सानो घोँचा घिसार्दै उनी अघि लागिन् । घाँसको भारी बोकेर आमाचाहिँ नानुको पछि पछि गफ गर्दै हिँड्नु भयो ।
“आमा, हाम्रो जङ्गलमा कति धेरै फलफूल छन् हगि ?” नानुले खुसी हुँदै भनिन्, “जतिखेर आए पनि केही न केही खान पाइन्छ । कति राम्रो हाम्रो जङ्गल ।”
‘हा हा हा !’ आमा हाँस्नुभयो । आमा हाँस्नु भएको सुनेर नानु पछाडि फर्किइन् । ‘किन हाँस्नु भएको आमा ?’ नानुले छक्क पर्दै सोधिन् । ‘तिमीलाई देखेर ।’ आमाले जवाफ फर्काउनुभयो । ‘मलाई देखेर ?’ झन् छक्क पर्दै नानुले सोधिन्, ‘किन नि आमा ?’
आमा फेरि हाँस्नुभयो ‘खान पाएचाहिँ राम्रो, अनि नपाएचाहिँ नराम्रो ?’ नानुले कुरा बुझिन् कि बुझिनन् कुन्नि ? उनी फेरि घोँचा घिसार्दै हिँडिहालिन्, ‘जङ्गलले हामीलाई घाँस, पत्कर, दाउरा अनि के के दिन्छ । त्यसैले राम्रो नि ।’ उनले एकोहोरो हिँड्दै भनिन्, “आफ्नो जङ्गल, झनै राम्रो जङ्गल ।”
गुडुङ्…गुडुङ्…! आकाश करायो । डरले आमाको मन डरायो सायद । आमा नि कराउनुभयो ‘पानी पर्ला जस्तो छ । पाखातिर पानी परेको होला नानु । लौ, छिटो छिटो हिँड त । चाँदे खोला उर्लेर आयो भने त तर्नै सकिँदैन । अनि त बर्बाद !’ आमा हतारिनुभयो । आमाको हतारोसँगै नानु नि हतारिइन् तर उनीसँग त आमा हुनुहुन्थ्यो । आमा भएपछि उनलाई के को डर ? ‘आमाले त मेरो जस्तोसुकै समस्या पनि समाधान गरिदिनुहुन्छ ।’ भनेझैं उनी पछाडि फर्कर्दै आमालाई हेर्दै, पछाडि फर्कर्दै आमालाई हेर्दै गरेर हिँड्न लागिन् ।
‘तिम्रो यो चालले त पक्कै हामीलाई खोलाले छेक्छ । लौ, अलि छिटो हिँड त नानु ।’ अब आमा अघि लाग्नुभयो । नानुको पाइला पनि अलि छिटो चल्न लागे । छिटो छिटो हिँड्दै उनीहरु एउटा डिलमा पुगे । डिलबाटै उभिएर आमाले खोलालाई हेर्नुभयो । लौ बर्बाद, खोला त वारको पार भएर उर्लिसकेछ ! लौ न अब के गर्ने ? आमा र नानु दुवै जनाको आँखा जुध्यो । के गर्ने के ? मनले नरमाइलो मान्यो । सुइयः सुस्केरा हाल्दै आमाले भारी बिसानुभयो । नानुले पनि घोँचा बिसाइन् । नानुलाई आमाले अङ्कमाल गर्दै आफूनजिकै राख्नुभयो ।
‘खहरे खोला न हो । एकछिनमा त सुकिहाल्ला नि ।’ आमाले खोलातिर हेर्दै भन्नुभयो । नानुले आमाको अनुहारलाई हेरिन् । उनको अनुहारमा एक थोपा पानी पर्यो ।
‘आमा, रुनु भएको हो ?’ नानुले रुन्चे अनुहार लगाइन् । ‘होइन नि । किन रुनु ?’ आमाले हाँस्न खोज्दै नानुको अनुहारमा हेर्नुभयो । नानुको अनुहारमा एक ठुलो थोपा पानी थियो । ‘ए हे ! पानी पो पर्न लाग्यो क्या हो ?’ आमाले भन्दा नभन्दै अर्को ठुलो थोपा पानी आमाको हातमै प¥यो । ‘हो बाबै, पानी पो पर्न लाग्यो ।’ आमाले आकाशलाई हेर्नुभयो । आकाश पनि डर लाग्दो हुँदै थियो कालो न कालो बादल बोकेर ।
‘अब पानी पर्ने छ । घर जान पनि खोलाले रोक्यो । के पो गर्ने त ?’ चिन्ताले होला आमाको अनुहार नि कालो भयो ।
‘के गर्ने त आमा अब ?’ नानुले सोधिन् ।
‘खै के गर्ने होला ?’ आमाले नानुलाई झनै बेसरी अङ्गाल्नु भयो । आमाको अङ्गालो भित्र बस्दा, छिट्याएको पानीले नानुलाई केही गर्न सकेन । आमाको टाउको, जिउतिर भने फटाफट पानी पर्न लाग्यो ।
‘जाऊँ नानु ओत लाग्न ।’ नानुलाई तान्दै आमा ठुलो रुखमुनि जानु भयो । ‘आमा घाँस त भिज्छ नि ।’ नानुले घाँसतिर हेरिन् । ‘घाँस भिजेर केही हुन्न ।’ आमाले आकाशतिर हेरेर भन्नुभयो ‘तिम्रो अम्बा नि त्यहीँ राख ।’ नानुले अम्बालाई घाँसको भारीमाथि राखिन् ।
आकाश झनै अध्याँरो हुँदै थियो । ‘पानी त ठुलै पर्छ जस्तो छ ।’
आमा हतारिनु भएको थियो । उहाँ आफैँसँग कुरा गर्दै हुनुहुन्थ्यो । कुराको केही भाग नानुले नि सुन्थिन् भने केही भाग सुन्दैन थिइन् ।
‘आफू मात्र भएको भए त केही थिएन । यो प्युसो पनि छे । भिजी भने बिरामी हुन्छे । खोलाले पनि रोक्यो । भोक पनि लाग्ने छ ।
आफूले त भोक खपौँला तर यसले त सक्दिन । लौन बाबै, के पो गर्ने ? बेकारमा घाँस काट्न आइए छ …।’ आमाको कुरा सिधिएको थिएन अनि पानी पर्ने सम्भावना पनि सिधिएको थिएन ।
आमाले घाँसको भारीमा राखेको हसियाँ झिक्नुभयो । आफैंसँग के के कुरा गर्दै नानुलाई तान्दै जङ्लभित्रै जानुभयो । ‘फेरि जङ्गल भित्रै जाने ?’ नानु छक्क परिन् ।
आमा फेरि अम्बाको बोटमा पुग्नुभयो । हतार हतार बोटमा चढेर अम्बा टिप्नु भयो । आमाले धेरै नै अम्बा टिप्नुभयो । धेरै अम्बा देखेर नानु खुसी भईन् ।
‘साथीहरुलाई धेरै धेरै अम्बा देओस् छोरीले भनेर धेरै अम्बा टिपिदिन लाग्नु भयो आमाले ।’ उनी मनमनै आमा देखेर खुसी थिइन् । पोल्टाभरि अम्बा टिपेर आमा रुखबाट ओर्लनुभयो । केही अम्बा नानुलाई बोकाएर फेरि हतार हतार घोचा काट्न लाग्नु भयो ।
लामा लामा दुइटा घोचा आमाले घिसार्नुभयो । छोटा छोटा दुईटा घोचा नानुलाई घिसार्न लगाउनुभयो । आमाको हतार झनै बढ्दै थियो । पानी पर्ने सम्भावना नि झनै बढ्दै थियो । अघिको एक दुई थोपा पानी, अब धेरै साथी लिएर जमिनतिर झर्दै थियो ।
घाँसनेर आएर आमाले लामो सास फेर्नुभयो । दुइटा घोचाको एक–एक छेऊ डिलमा राखेर अर्को छेऊचाहिँ तलतिर पठाउनुभयो ।
घोचा करालो परेर बस्यो । त्यही माथि साना साना घोचा तेसार्नुभयो आमाले । ‘नानु यहीँ बस है ?’ भन्दै आमा अलि परतिर जानुभयो । उहाँले झ्याप झ्याप गरेर छिटो छिटो स–साना घोचा र सेउला काट्नुभयो । तिनलाई फटाफट ओसारेर घोचामाथि राख्न लाग्नुभयो । यसो हेर्दा बाख्रा राख्ने गोठ जस्तो देखियो त्यो ठाऊँ ।
आमाले के गर्दै हुनुहुन्छ भन्ने कुरा अलि अलि थाहा पाउँदै थिइन् नानुले । त्यसैले उनले पनि आमालाई सहयोग गर्दै थिइन् । पानी झनै ठुलो पर्न लाग्यो । रुखले ओत दिन गाह्रो मान्ने अवस्था आइसकेको थियो । तर यतिबेलासम्म आमा र नानु भएर करालो परेको एउटा छाप्रो तयार पारिसकेका थिए ।
झरररर पानी पर्यो । आमा र नानु त्यही छाप्रो भित्र पसे । ‘आहा, हामीलाई पानीले भिजाउन सकेन !’ नानु खुसीले उफ्रिईन् । पसिना हो कि पानी ? दाहिने हातको चोर औँलाले पुछ्दै आमा पनि हाँस्नुभयो । आमाको पोल्टाभरि अम्बा थिए । एउटा अम्बा झिकेर नानुले खान थालिन् । आमाको अनुहार झनै हँसिलोभयो ।
झ्न्झन् रात पर्दै थियो । पानीको वेग बढ्दै थियो । छाप्रोभित्र अलि अलि पानी चुहिँदै थियो । छाप्रोभित्रै बसेर यताउता गर्दै आमाले पानी नचुहिने बनाउँदै हुनुहुन्थ्यो छाप्रोलाई । ‘हतार हतार गरेर टिपिएको अम्बा त भोक लाग्दा खानका लागि पो रहेछ ।’ आमाले पनि अम्बा खान थालेपछि पो थाहा पाइन् नानुले ।
आमाले अम्बा खाएको हेरिरहिन् नानुले । ‘तिम्रा साथीको लागि पनि राखिदिऊँला ।’ अम्बा चपाउँदै आमाले भन्नुभयो । ‘साथीको लागि त फेरि टिपौँला नि रुखबाट तर भोक लाग्दा त खानै प¥यो नि, हैन त आमा ?’ नानुले फेरि अर्को अम्बा खाइन् । आमाले नानुलाई बेस्सरी अगाल्नुभयो । ‘धेरै पनि खानु हुन्न, फेरि पेट दुख्यो भने !’ मायालु नजरले हेर्नुभयो आमाले नानुलाई । नानु झनै आमासँग टाँसिइन् ।
‘घटेको छैन खोला ।’ खोलाको स्वाँ…आवाज सुन्दै आमाले भन्नुभयो ।
‘ला ! भोलिसम्म नि घटेन भने !’ नानु डराइन् ।
‘चिन्ता नमान । ठाडो खोला हो, घटिहाल्छ नि ।’ आमाले नानुको टाउकोतिर मुसार्नुभयो । नानु त्यतिकै लुटुक्क निदाइन् ।
बिउँझिँदा त नानुले आमाको फरियाको एक छेऊ ओछ्याएकी रहिछिन् । आमा पनि फरिया ओछ्याएरै निदाइरहनु भएको रहेछ ।
किरकिर किरकिर झ्याउँकिरीहरु कराएको आवाज प्रष्टै सुनिन्थ्यो ।
पानी पनि पर्न छोडिसकेको रहेछ । खोलाले स्वाँ…गरेको छ कि ? भनेर नानुले कान थापिन् । खोला नि सुक्दै गएको जस्तो लाग्यो किनकि खोलाको स्वर सुनिएको थिएन । उनको आँखा छाप्रोको तल्लो भागमा पर्यो । त्यहाँबाट निकै पर एउटा सानो उज्यालो बलिरहेको देखिन् उनले । त्यो उज्यालो हिँडिरहेको थियो आफैं । नानुलाई कता कता डर लागेर आयो ।
“आमा…आमा…।” सासले बोलिन् नानु । आमाले नानुको बोली सुन्नुभएछ । “के भयो नानु ? ओहो कस्तो निदाइएछ ।” भन्दै आमा उठ्नु भयो । नानुले आमालाई त्यो सानो उज्यालो देखाइन् ।
‘के पो होला त ? अह ! त्यो त यतै पो आउँदै छ त ?’ आमा नि डराएको जस्तो लाग्यो नानुलाई । उनी आमासँगै टाँसिइन् ।
‘नडराउन नानु, आमा छँदै छु नि ।’ आमाले दह्रो गरी समाउनु भयो नानुलाई । गाइँगुइँ गाइँगुइँ हाल्ला पनि सुनियो ।
‘ए नानु कि आमा..नानुकी आमा हो….!’ कसैले ठुलो आवाज गरेर आमालाई बोलाए ।
‘ए यो आवाज त तल्लाघरे काँइला दाइको हो ।’ आमाले कान थापेर सुन्नुभयो । फेरि अर्को आवाजले आमालाई बोलायो । ‘योचाहिँ बिमल बाबुको आवाज हो ।’ आमा खुसी हुँदै छाप्रोबाट बाहिर आउनुभयो । त्यो उज्यालो छाप्रोतिरै बढ्दै थियो । आमाले पनि ‘ए काँइला दाजु, बिमल बाबु…हामी त यहाँ छौ है यहाँ’ भन्दै कराउनु भयो ‘खोला सुकिसकेको हो ? यता आउनु हौ यता ।’
एकछिनपछि सबै जना नानु र आमा भएको ठाउँमा आइपुगे । आमाको आइडिया देखेर सबै जना छक्क परे ।
‘यी नानुको आमाको आइडियाचाहिँ मान्नु पर्छ । दह्रो मनकी छिन् यिनी ।’ काँइला दाइले आमाको प्रशंसा गर्नु भयो । त्यो सानो उज्यालो काँइला दाजुको टर्च लाइट रहेछ । नानुले समातेर बाल्न लागिन् । त्यो उज्यालो उनलाई जुनको उज्यालो जस्तै लाग्यो ।
‘लौ जाऊँ हिँड ।’ काँइला दाइले भन्नुभयो, “काँइलीले भनेर पो थाहा पाएँ त तिमीहरु जङ्गल आएको कुरा । अनि घरमा गएर हेरेको त ताल्चा पो मारेको छ । अनि त आत्तियौँ नि हामी । खोला पारिबाट जति बोलाए नि सुनेका होइनौ । टन्न अम्बा खाएर सुतेछौ । के सुन्नु । अलिकति खोला घट्ने बित्तिकै आएका नि तिमीहरूलाई बोलाउँदै ।’ काँइला दाजुले नि एउटा अम्बा टोक्नुभयो । बिमल बाबु अनि अरूले नि एउटा एउटा अम्बा खाए ।
‘यति अम्बाचाहिँ मेरा साथीलाई ।’ दुईचारवटा अम्बाचाहिँ नानुले बगलीमा हालिन् ।
‘लौ हिँड अब ।’ काँइला दाइले घाँसको भारी बोक्नुभयो । ‘मै बोक्छु नि, दाजुलाई कति दुःख दिनु ।’ आमाले भन्दा भन्दै ‘लौ खुरुखुरु हिँड ।’ भन्दै घाँसको भारी बोकेर काँइला दाजु अघि लाग्नुभयो । त्यो उज्यालो टर्च बालेर नानु पनि पछि पछि लागिन् । अघि त्यही उज्यालो देखेर तर्सिएकी नानु, अहिले त त्यही उज्यालो बोकेर फुरफुर रमाउँदै हिँड्दै थिइन् घरतिर ।
–चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्