नेपाल । नेपाल बार एशोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनुभएको छ ।
काठमाडौँमा आयोजित ‘मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनुभएको हो ।
उहाँले गोलाप्रथामार्फत पेशी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने चेतावनी दिनुभयो ।
उहाँले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो । उहाँले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तिलाई नियुक्ति गर्ने अभ्यासको थालनी गरिएको टिप्पणी गर्नुभयो ।
उहाँले सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’को ट्याग भिराउन हजारौँ व्यक्ति परिचालन गर्ने गरिएको समेत टिप्पणी गर्नुभयो ।
उहाँले अहिले न्यायपालिकाले गम्भीर परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा कानून व्यवसायीहरूले विवेक गुमाउन नहुने बताउनुभयो ।न्यायालय तथा न्यायाधीशलाई बलियो बनाउने दायित्व समेत कानून व्यवसायीकै भएको उहाँको भनाइ छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्