३१ भाद्र २०८१, सोमबार

बालकविताः क्याल्कुलेटर

कोलोराडोखबर संवाददाता , November 22nd, 2023

–रमेशचन्द्र घिमिरे–

हिसाब गर्थे बाजेले औँला भाँचेर
हामी हिसाब गर्दैछौँ मिसिन जाँचेर

‘यति मुरी धान भयो कोदो यति पाथी
यतिको दर बेच्नुपर्दा कति हुन्छ नाति’
औँला भाँच्दै सोध्नुभयो हाम्रा बाका बाले
कापी कलम झिकेँ अनि हिसाब गर्न थालेँ

जोड्ने गुन्ने मेसो पाइनँ अल्मल गरेँ अनि
हजुरबालाई गफ दिएँ फुर्सद छैन भनी
‘सर, मिसले दिनुभा’को गृहकार्य टन्न
सकेपछि भन्छु ऐले सक्तिनँ म भन्न

यसो भन्दै पढ्ने निहुँमा कोठाभित्र पसेँ
क्याल्कुलेटर खोजेँ अनि हिसाब गर्न बसेँ
बाहिर आई भनेँ–‘बल्ल गृहकार्य भ्याएँ
धान–कोदोको हिसाब पनि मिलाएर ल्याएँ’

हजुरबाले सोध्नुभयो–‘कसो गरिस् तैँले’
तर उत्तर भन्दिनु भो मैलेभन्दा पैले
भनेँ मैले–‘उत्तर मिल्यो साह्रै छक्क परेँ
हो हजुरबा मैले पनि हजुरले झैँ गरेँ’

‘लुकी लुकी क्याल्कुलेटर हान्ने बानी तेरो
औँला भाँच्दै उत्तर ठ्याक्कै पार्ने बुद्धि मेरो’
हाँसी–हाँसी भन्नुभयो ‘क्याल्कुलेटर झिक्
तेरो मिसिनभन्दा बरु मेरै बुद्धि ठीक्’

–भोर्लेटार, लमजुङ ।

प्रतिक्रिया दिनुहोस्