-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा कोलोराडोस्थित नेपाली घर शिवालयमा विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ।
नेपाली घरको आयोजनामा नेपाली सांस्कृतिक केन्द्र स्थित शिवालयमा आगामी शुक्रबार, अगस्ट २८ गते बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सामुहिक रक्षाबन्धन, जनै मन्तर्ने तथा विशेष पूजा–अर्चना कार्यक्रम सञ्चालन गरिने भएको हो ।
कार्यक्रम गुरुहरू जीवन बराल तथा चुडाप्रसाद न्यौपानेको उपस्थितिमा वैदिक विधि तथा शास्त्रीय परम्पराअनुसार पूजा–अर्चना, जनै मन्तर्ने तथा रक्षाबन्धन गरिनेछ। पण्डितहरूको उपस्थितिमा विधिपूर्वक धार्मिक अनुष्ठान सम्पन्न गरिने भएकाले श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई धार्मिक लाभ लिन आयोजकले अनुरोध गरेको छ ।
रक्षाबन्धन तथा जनै पूर्णिमा हिन्दू संस्कार र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो। यस दिन विशेष पूजा–अर्चना गरी मन्त्रद्वारा अभिमन्त्रित जनै धारण गर्ने तथा रक्षाबन्धन बाँध्ने धार्मिक परम्परा रहिआएको छ। नयाँ जनै धारण गर्ने र रक्षाबन्धन बाँध्ने कार्यलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले पवित्र मानिन्छ। यदी कसैलाइ आफ्नो घरमा भएको जनै पनि मन्तर्ने इच्छा भएमा बिहान ७ बजेनै कार्यक्रम स्थलमा ल्याइ पुर्याउनुहुन गुरू जीवन बरालले सबैलाइ अनुरोध गर्नुभएको छ ।
कार्यक्रम नेपाली घर शिवालय, (4001 West 76th Ave., Westminster, Colorado ) मा आयोजना हुनेछ। आयोजकले कोलोराडोमा रहेका सम्पूर्ण नेपालीभाषी समुदाय तथा श्रद्धालु भक्तजनहरूलाई परिवारसहित कार्यक्रममा उपस्थित भई पर्वलाई धार्मिक एवं सांस्कृतिक रूपमा मनाउन हार्दिक निमन्त्रणा गरेको छ । नेपाली साँस्कृतिक केन्द्र नेपाली घर स्थित शिवालयमा हरेक दिन बिहान ८ बजेदेखी १० बजे सम्म गुरु चुडाप्रसाद न्यौपानेबाट नित्यपुजा हुदै आएको छ । साथै साँझमा नित्य आरती हुने गरेको छ ।
“येन बद्धो बली राजा दानवेन्द्रो महाबलः। तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल॥” मन्त्रका साथ रक्षाबन्धन गरिने कार्यक्रममा सहभागी भई भगवान् शिव तथा देवी–देवताहरूको दर्शन, पूजा–अर्चना र आशीर्वाद ग्रहण गर्न सकिने आयोजकले जनाएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्