८ भाद्र २०८३, सोमबार

कोलोराडो निवासी सम्झना अर्यालको माइतीघरको सम्झना बोकेको तीज गीत सार्वजनिक

कोलोराडोखबर संवाददाता , August 24th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा मौलिक नेपाली संस्कृति, माइतीघरको सम्झना र परदेशी जीवनका पीडालाई समेटिएको नयाँ तीज गीत ‘तिज आउँदा माइत गइन्थ्यो, नचाउँदै पाइलो’ सार्वजनिक भएको छ।

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकामा जन्मिएकी तथा हाल अमेरिकाको कोलोराडोस्थित फोर्ट कोलिन्समा बस्दै आएकी सम्झना अर्यालले लेखेको यस गीतमा परदेशमा रहेका नेपाली नारीहरूले चाडपर्वका बेला माइतीघर, बाबुआमा, बाल्यकाल र विगतका रमाइला दिनहरू सम्झँदाको भावनालाई प्रस्तुत गरिएको छ।

परदेशमा चाडपर्व आए पनि कामबाट सहजै बिदा नपाउने, कमाएको आम्दानी घरको मोर्गेज तथा दैनिक खर्चमै सकिने र जन्मभूमि तथा माइतीघरबाट टाढा रहनुपर्ने अवस्थालाई गीतले भावनात्मक रूपमा उजागर गरेको छ। गीतले विदेशमा रहेर पनि आफ्नो मौलिक रीतिरिवाज, संस्कार र संस्कृति नबिर्सन तथा साथीभाइ र आफन्तसँग मिलेर तीज मनाउन प्रेरणा दिएको छ।

गीतमा समीक्षा अधिकारीको सुमधुर स्वर रहेको छ भने शब्द सम्झना अर्यालको रहेको छ। गीतको संगीत, एरेन्ज र मिक्सिङ बिबी अनुरागीले गरेका हुन् । गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो ।

गीतको भिडियो निर्देशन मिराज अर्यालले गरेका हुन भने निर्माण श्याम नेपालले गरेका हुन् । भिडियोको सम्पादन तथा VFX समेत मिराज अर्यालले गरेका हुन् । छायांकन राजेन्द्र थापाले गरेका हुन् ।

गीतले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोडिन तथा तीज लगायतका चाडपर्व आफ्ना समुदाय, साथीभाइ र परिवारसँग मिलेर मनाउँदै त्यसका दृश्य तथा सन्देश सामाजिक सञ्जालमार्फत नेपालमा रहेका आफन्त र साथीभाइसम्म पुर्‍याउन आग्रह गरेको छ।

परदेशको व्यस्त जीवनबीच पनि माइतीघरको सम्झना, बाबुआमाप्रतिको माया र नेपाली संस्कृतिप्रतिको आत्मीयतालाई गीतले उजागर गरेकाले ‘तिज आउँदा माइत गइन्थ्यो’ ले विदेशमा रहेका नेपाली नारीहरूको भावनालाई प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।

यस मौलिक तीज गीत तथा भिडियो सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले हेरेर, मन परेमा शेयर , लाईक, कमेन्ट गरी कलाकार तथा सर्जकहरूलाई हौसला र साथ दिन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्