८ भाद्र २०८३, सोमबार

स्पेनमा नेपाल समाज एसोसिएसनको पहलमा मन्दिर-गुम्बा निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

कोलोराडोखबर संवाददाता , August 24th, 2026

स्पेन। स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिर–गुम्बासहित धार्मिक धरोहर निर्माणको अभियान अघि बढाइएको छ। नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काको पहलमा उक्त परियोजनाका लागि कुल १ लाख युरो आर्थिक प्रतिबद्धता जुटेको छ।

नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काका अध्यक्ष केसर बहादुर थापा र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काका अध्यक्ष बिपिन बुढाथोकीको अध्यक्षतामा सोमबार बसेको संयुक्त बैठकले मन्दिर–गुम्बा निर्माण, आर्थिक व्यवस्थापन तथा धार्मिक कार्यक्रम सञ्चालनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको हो।

बैठकले सहभागी विभिन्न व्यक्तिहरूबाट मन्दिर स्थापनाका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता संकलन गर्दै जनही ५ हजार युरोका दरले कुल १ लाख युरो (रु. १ करोड ७७ लाख २० हजार नेपाली रुपैँया ) जुटाउने निर्णय गरेको छ।मन्दिर निर्माणका लागि मुकुन्द लामिछाने, सुरेन्द्र भुजेल थापा, रितेश श्रेष्ठ, बिपिन बुढाथोकी, केसर बहादुर थापा, रुद्र खत्री, सुरेश बज्रचार्य, दुर्गा भण्डारी, बद्री प्रसाद कोइराला, द्वारिका लामिछाने, हेमराज सापकोटा, नवराज दुवाडी, दिपेश श्रेष्ठ, ईश्वर गौतम, अन्जु पुन, अक्कल बोहोरा, राजन थापा, केशवराज कडेल, देबराज सापकोटा तथा बिनोद शेरचनले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।

मन्दिर–गुम्बा निर्माण अभियानका संयोजक मुकुन्द लामिछानेका अनुसार यो परियोजना धार्मिक आस्था, संस्कार, संस्कृति तथा सामाजिक एकताको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको हो। यसले कोस्टाब्लाङ्कामा रहेका नेपाली समुदायलाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

बैठकले मन्दिर निर्माण सहयोगार्थ नौदिने नवदुर्गा पूजा आयोजना गर्ने निर्णयसमेत गरेको छ। उक्त पूजा–पाठ पण्डित ईश्वर गौतमले सञ्चालन गर्नेछन् भने मन्दिरका लागि आवश्यक मूर्ति व्यवस्थापनको जिम्मेवारी समाजका संरक्षक सुरेन्द्र भुजेल थापालाई दिइएको छ।

त्यस्तै, आगामी तीज कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न कार्यक्रम स्थल व्यवस्थापनको जिम्मेवारी समाजका संरक्षक रितेश श्रेष्ठ र सुरेश बज्रचार्यलाई दिइएको छ। मन्दिर–गुम्बा पूजा कार्यक्रमका लागि आवश्यक स्थान एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काका अध्यक्ष बिपिन बुढाथोकीले उपलब्ध गराउने जनाइएको छ। तीज कार्यक्रमको समग्र व्यवस्थापनको जिम्मेवारी स्मृति गौतम, डा. सबिता पाठक र रीता आचार्यलाई दिइएको छ।

मन्दिर–गुम्बा निर्माण तथा आर्थिक सहयोग अभियानको समन्वयकारी भूमिकामा समाजका संरक्षक रुद्र खत्री रहने निर्णय गरिएको छ।

बैठकमा १४ जना प्रतिनिधिको उपस्थिति रहेको थियो। सहभागीहरूले धार्मिक तथा सांस्कृतिक धरोहर निर्माणको अभियानलाई सामूहिक सहकार्य, एकता र सहभागिताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। यसैबीच, अभियानलाई कोस्टाब्लाङ्का तथा स्पेनमा मात्र सीमित नराखी विश्वभर रहेका नेपाली समुदायलाई समेत जोड्ने आह्वान गरिएको छ।

नेपाल समाज एसोसिएसनले मन्दिर–गुम्बा निर्माण तथा धार्मिक धरोहर संरक्षणको यस अभियानमा विश्वभर छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार तथा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सहयोग, सहकार्य र सहभागिताका लागि समाजका महासचिव अशिम लोप्चन तामाङले आह्वान गरे ।

अभियानले नेपाली धर्म, संस्कृति, कला, परम्परा र सामाजिक एकताको संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। प्रवासी भूमिमा निर्माण हुने यस्तो धार्मिक तथा सांस्कृतिक केन्द्रले भावी पुस्तालाई समेत आफ्नो मौलिक पहिचान र संस्कृतिसँग जोड्ने अपेक्षा गरिएको छ।

बैठकले मन्दिर–गुम्बा निर्माण, आर्थिक व्यवस्थापन तथा कार्यक्रम सञ्चालनसम्बन्धी सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गर्दै सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्