नेपाल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका छन् ।
कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनताको विषय निकै ठूलो संकटबाट गुज्रिरहेको बताए ।
लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू खोसिँदै गएको तथा त्यसैमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिको दबाब तथा हस्तक्षेप बढिरहेको उनको भनाइ थियो।
यस्तो अवस्थामा विचार मिल्ने शक्तिहरूबीच पार्टी एकता, तत्कालका निश्चित विचार र मुद्दामा सहमति राख्ने शक्तिहरूबीच सहकार्य तथा विगतमा शान्ति र संविधानका पक्षमा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गरेका शक्तिहरूबीच मोर्चा आवश्यक रहेको उनले बताए ।
प्रचण्डले आफूहरू कुनै न कुनै समयमा एउटै पार्टीका सहयोद्धा रहेको उल्लेख गर्दै अहिलेको समय र परिस्थितिले सबैलाई गम्भीर आत्मसमीक्षा गर्न प्रेरित र बाध्य बनाएको बताए ।
उर्वर रूपमा अगाडि बढिरहेको कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुग्नुका साथै ठूलो धक्का र संकटमा पर्नुको मूल कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्