४ भाद्र २०८३, बिहीबार

नेपालका लाखौँ सन्तान विदेशमा छन्, तर किन उनीहरूलाई ‘पराइ’ ठानिन्छ ?

कोलोराडोखबर संवाददाता , August 20th, 2026

-आर सि पन्त (महासचिव, गैरआवासिय नेपाली संघ अमेरिका) –

म सन् २००६ मा नेपालको (६२/६३) को राजनीतिक उथलपुथल वा जनआन्दोलन पछि अमेरिका आएँ । म नेपाल छोड्ने पहिलो व्यक्ति थिइनँ, र निश्चित रूपमा अन्तिम पनि हुने छैन । म भन्दा अगाडि हजारौँ नेपालीले शिक्षा, सुरक्षा, अवसर र राम्रो भविष्यको खोजीमा देश छोडेका थिए । म पछि पनि हजारौँ त्यसरी नै जानेछन् । हामी नेपाल छोड्दा केवल सपना बोकेर आउँदैनौँ, हामीसँग एउटा यस्तो कुरा पनि हुन्छ, जुन देखिँदैन, भन्न सकिदैन, आफू जन्मिएको देशको पहिचान ।

तर राम्रो अवसर र राम्रो जीवन बनाउने यात्रामा हिँड्दै गर्दा आज कहिलेकाहीँ म आफ्नै भविष्यबारे सोच्न थालेको छु । म नेपाली भएर जन्मिएँ । यो मेरो रोजाइ थिएन । यो मेरो सुरुवात थियो । तर यदि मैले अर्को देशको नागरिकता लिएँ, आफ्नो जीवनको अधिकांश समय अर्को देशमा बिताएँ र त्यही समाज निर्माणमा दशकौँ योगदान गरेँ भने के म एक दिन आफ्नै जन्मभूमिका लागि अपरिचित बन्नेछु ? यो सोच हामी विदेशमा बसेको सबैलाई कहि कतै पक्कै आउछ नै ।

अब मलाई अझै राम्रो अवसर खोज्दै जीवन बिताउनु छैन, तर जीवनको अन्त्यमा पुग्दा आफू जन्मिएको देशलाई आफ्नो भन्न पाउने अधिकारसमेत गुमाइसकेको रहेछ भन्नु नपरोस भन्ने मात्र छ । हामीलाई कहाँ बस्ने रोज्न पाउने, कहाँ काम गर्ने रोज्न पाउने, आफ्नो परिवारको सुरक्षा र भविष्यका लागि कुन देशको नागरिकता लिने भन्ने निर्णय गर्न पाउने अधिकार दिईनु पर्दछ । तर त्यसको अर्थ मैले आफू जन्मिएको देश र आफूले जीवन बनाएको देशमध्ये एउटा रोज्नैपर्छ भन्ने हुनु हुँदैन । सबैले आफ्नो जीवनको बाटो रोज्न पाउनुपर्छ, तर आफ्नो जन्मभूमि गुमाउन बाध्य बनाईनु हुँदैन, सायद यही कारणले निम्सदाइको अन्तिम यात्राले मलाई अरूभन्दा फरक ढंगले छोयो ।

नेपाल नजिकैको पाकिस्तानबाट उनको पार्थिव शरीर बेलायत, हजारौ माईल टाढा उनले जीवन बिताएको र नागरिकता लिएको देशतर्फ लगिएको समाचार हेरेपछि त्यो रात म छिट्टै निदाउन सकिन । मेरो मनमा धेरै बेरसम्म एउटै प्रश्न घुमिरह्यो, यदि म निम्सदाइ भएको भए, मेरो अन्तिम यात्रा कहाँ टुंगियोस् वा लगियोस् भन्ने चाहन्थेँ होला ?

सायद म चाहन्थेँ होला मेरो शरीर ती मैले चढेको हिमालहरू मध्यका कुनै एकको काखमा विश्राम लिन्थेहोला, जहाँ मेरो जीवनका सपनाहरू जन्मिएको थियो, वा तीमध्ये कुनै एउटा हिमशिखरको फेदीमा, जहाँको बाट हिमाललाई हेर्दा मानिसले आफ्नो सीमाभन्दा परको सपना देख्न सिकेको हुन्छ र सिकाउछ । सायद निम्सदाइलाई यस्तो सोच्ने अवसर नै मिलेन कि ? सायद उनले आफ्नो मृत्यु यति नजिक छ भनेर कल्पना पनि गरेका थिएनन् कि ? र सायद कसैले पनि गर्नु नपरोस् पनि । तर उनको मृत्युले मेरो मनमा एउटा गहिरो व्यक्तिगत प्रश्न चॉंहि जन्माएर गएको छ ।

आखिर मानिसले आफ्नो सम्पूर्ण जीवन आफू जन्मेको देश, पहिचान र कानुनी सीमाहरूबीचको यात्रा गरेपछि अन्ततः ऊ कहाँको हुन्छ ? यसको उत्तर केवल मृत्युको समयमा हातमा भएको पासपोर्टले निर्धारण गर्नु हुँदैन होला थियो । हरेक मानिसलाई जहाँ अवसर मिल्छ त्यहाँ बस्ने स्वतन्त्रता हुनुपदर्छ, तर आफू कहाँबाट आएको हो भन्ने अधिकार गुमाउनु नपर्ने हो । हरेक मानिसलाई अर्को देशको नागरिक बन्ने अधिकार हुनुपर्छ, तर त्यसले उसको जन्मभूमिसँगको सम्पूर्ण सम्बन्धलाई कानुनी प्रावधानमा मात्र सीमित गरिदिनु हुँदैन थियो । र यदि कुनै दिन म नेपालभन्दा धेरै टाढा मरेँ भने, म यति भन्न सक्ने अधिकार त पक्कै राख्दछु कि म नेपाली भएर जन्मिएँ, अवसरले मलाई जन्मभूमिभन्दा टाढा पुर्‍यायो । मैले जहाँ जीवनको सम्भावना भेटेँ, त्यहीँ आफ्नो संसार बनाएँ । तर मेरो जीवनको कथा सुरु भएको त्यो मातृभूमि मेरो लागि कहिल्यै पराइ भएको थिएन ।

मैले यो भन्दै गर्दा गैरआवासिय नेपालीहरूले यो कुनै विशेष सुविधा माग्नु पनि होइन । यो आफ्नो जीवन र आफ्नो पहिचानबारे आफैँ निर्णय गर्ने अधिकारको माग मात्र हो । र सायद यही कुरा नेपालको राजनीतिक नेतृत्वले अझै बुझ्न सकेको छैन कि झै लाग्दछ । डायस्पोराका नेपालीले नेपालसँग हामीलाई आफ्नो भविष्य रोजिदिन आग्रह गरिरहेको हैन, हामी केवल यति भनिरहेका छौँ कि हामीलाई आफ्नो भविष्य रोज्न दिनु पर्दछ, तर आफू जन्मिएको कहॉं हो भन्ने पहिचान त्याग्न बाध्य बनाउनु हुदैन ।

“निम्सदाइ” निर्मल पुर्जाले आफ्नो जीवनमा त्यस्तो काम गरे कि जुन संसारका अधिकांश मानिसले कल्पनासम्म गर्न पनि सक्दैनन् । नेपालमा जन्मिएका उनले आफ्नो नेपाली पहिचान बाचुन्जेल संसारभर बोकेर हिँडे । बेलायती सेनामा सेवा गरे, बेलायती नागरिक बने र विश्वका सबैभन्दा चर्चित पर्वतारोहीमध्ये एक बने । तर ३० जुलाई २०२६ मा पाकिस्तानको ब्रड पिकमा आएको हिमपहिरोले उनको असाधारण यात्राको अन्त्य गरिदियो । उनको मृत्यु व्यक्तिगत त्रासदी त थिदै थियो, तर यसले नेपाललाई एउटा असहज राष्ट्रिय प्रश्न पनि सोध्न बाध्य बनायो, विदेशी नागरिकता लिएको, तर नेपालमा जन्मिएको व्यक्तिप्रति नेपालको दायित्व आखिर के हो ? के पासपोर्ट परिवर्तन हुँदैमा जन्मभूमि मेटिन्छ ?

के नागरिकता परिवर्तन हुँदैमा आफ्नो पहिचान मेटिन्छ ? के विदेश बसाइँसराइले आफ्नो मातृभूमिप्रतिको सम्बन्ध समाप्त गर्छ ? र सबैभन्दा महत्वपूर्ण त किन नेपाल आफ्ना नागरिकलाई विश्वमा सफल हुँदा गर्वका साथ आफ्नो भन्छ, तर उनीहरूले आफ्नो अधिकार खोज्दा भने उनीहरूको नेपालीपनमाथि नै प्रश्न उठाउँछ ? नेपालको २०२१ को जनगणनाअनुसार २२ लाखको हाराहारीमा नेपालीहरू विदेशमा संसारभरि बसिरहेका छन, जुन त्यतिबेलाको कुल जनसंख्याको करिब ७.५ प्रतिशत हो । देशको करिब १५ लाख ५२ हजार परिवारमा कम्तीमा एक जना सदस्य विदेशमा रहेको जनगणनाले देखाएको थियो । तर यो संख्या सम्पूर्ण नेपाली डायस्पोराको वास्तविक तस्वीर भने पक्कै होइन ।

यसले विदेशमा स्थायी रूपमा बसोबास गरिरहेका नेपाली, विदेशमा जन्मिएका दोस्रो पुस्ताका नेपाली, विदेशी नागरिकता लिएका नेपाली मूलका मानिसहरू तथा भारतमा रहेका ठूलो नेपाली समुदायलाई पूर्ण रूपमा समेट्न अझै सकेको छैन । एनआरएनएले २०२४ मा विश्वभर करिब ३५ लाखको हाराहारीमा गैरआवासीय नेपालीहरू रहेको अनुमान गरेको थियो । केही अनुमानहरूले नेपाली मूलका विदेशमा रहेका मानिसको संख्या ५० देखि ६० लाखसम्म रहेको उल्लेख गर्छन् ।

संख्या ३५ लाख होस् वा ५० वा ६० लाख, निष्कर्ष एउटै हो, नेपालले अझै पनि यी डायस्पोराका मानिसहरू वास्तवमा के हुन् भनेर स्पष्ट निर्णय गर्न सकिरहेको छैन । उनीहरू नागरिक हुन् ? पूर्वनागरिक हुन् ? आर्थिक साझेदार मात्र हुन् ? सांस्कृतिक दूत पो हुन् कि ? नेपालको गौरव पो हो कि क्याहो ? या त उनीहरू पैसा पठाउँदा मात्रै नेपाली हुन् ? नेपालले आफ्नो डायस्पोरासँग असाधारण आर्थिक सम्बन्ध मात्र बनाएको देखिन्छ । उनीहरू नेपाल छोड्छन् । विदेशमा काम गर्छन् । घर पैसा पठाउँछन् । घर बनाउँछन् । छोराछोरी पढाउँछन् ।

आफ्ना बुबाआमालाई सहयोग गर्छन् । लगानी गर्छन् । व्यवसाय गर्छन् । ज्ञान र प्रविधि भित्र्याउँछन् । नेपालको प्रचार गर्छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्छन् । र जब उनीहरूमध्ये कोही असाधारण सफलता हासिल गरिहाले नेपाल गर्वका साथ भन्छ “उहाँ नेपाली हुनुहुन्छ ।” तर जब कुरा गौरवबाट अधिकारतर्फ जान्छ, भाषाशैली अचानक परिवर्तन हुन्छ । संविधानका प्रावधान आउँछन् । कानुनी प्रक्रिया आउँछ । प्रशासनिक जटिलता आउँछ । सम्पत्तिको प्रश्न आउँछ । राजनीतिक अधिकारको प्रश्न आउँछ । विदेशी नागरिकताको प्रश्न आउँछ । यो विरोधाभास निकै ठूलो छ ।

नेपाल आफ्नो डायस्पोराबाट प्राप्त हुने फाइदा चाहन्छ, तर उनीहरूसँग नेपालको कानुनी र राजनीतिक सम्बन्धलाई पूर्ण रूपमा स्पष्ट गर्न अझै हिच्किचाउँछ । त्यसैले एनआरएनएको संघर्ष अझै महत्वपूर्ण छ, नेपाली वंशजको नागरिकताको निरन्तरता र विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूको अधिकार एनआरएनएको लामो समयदेखिको प्रमुख मुद्दाको छिनोफानो चाडो लगाउनु पनि छ ।

नेपालको संविधानले दक्षिण एसियाबाहेकका मुलुकको नागरिकता लिएका, तर पहिले वंशज वा जन्मका आधारमा नेपाली नागरिक रहेका, वा जसका बाबु, आमा, बाजे वा बज्यै नेपाली नागरिक थिए, त्यस्ता नेपाली मूलका व्यक्तिलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न गैरआवासीय नेपाली नागरिकता लिन सक्ने व्यवस्था गरेको छ । यो पूर्ण नागरिकताबाट प्राप्त हुने सबै अधिकारको निरन्तरता भने होइन । र यही ठाउँमा राजनीतिक बहस अझै अधुरोनै छन । त्यसो भए नेपाल वास्तवमा के सँग डराइरहेको छ ? नेपालका राजनीतिक नेतृत्वले अब यो प्रश्नको इमानदार जवाफ दिनुपर्ने बेला भएको छ ।

विदेशी नागरिकता लिएका नेपाली मूलका मानिसहरूका लागि स्पष्ट, व्यावहारिक र पूर्वानुमान गर्न सकिने कानुनी व्यवस्था बनाउन वास्तवमा के कुराले रोकिरहेको छ त ? संविधान ? राजनीतिक सहभागिताको चिन्ताले ? कि मताधिकारले ? सम्पत्ति अधिकार पनि त हुन सक्छ ? करसम्बन्धी व्यवस्था पो हो कि ? राष्ट्रिय सुरक्षा त हैन ? विदेशी सरकारको प्रभाव होला कि ? वा विदेशमा बस्ने लाखौँ नेपालीले नेपालको राजनीतिक भविष्यमा प्रभाव पार्न सक्ने सम्भावनाप्रतिको राजनीतिक डर यति ठूलो हो ?

निम्सदाइको प्रश्न अनि त्यसपछि आउँछ, उनी बेलायती नागरिक बनेपछि नेपालको पहाडसँगको सम्बन्ध समाप्त भएको थिएन । उनको जीवन विदेश पुगेपछि नेपालीपन समाप्त भएको थिएन । अर्को देशको पासपोर्ट पाएपछि उनले नेपालको हिमाल चढ्न छाडेका थिएनन् । विश्वले उनलाई नेपाली पर्वतारोहीका रूपमा चिन्यो । नेपालले उनलाई आफ्ना असाधारण सन्तानमध्ये एकका रूपमा चिन्यो । तर हाम्रो नागरिकता बहसले भने एउटा प्रश्न अझै उठाउँछ, यस्ता व्यक्तिले आफ्नो जन्मभूमिसँगको कानुनी सम्बन्ध पूर्ण रूपमा कायम राख्न किन संघर्ष गर्नुपरिरहेको छ ? यही नै विडम्बना हो । एक व्यक्तिले आफ्नो सम्पूर्ण जीवन संसारलाई आफ्नो नेपाली सम्बन्ध प्रमाणित गर्दै बितायो । तर अन्ततः उसैको जन्मभूमिको कानुनी प्रणालीले उसलाई त्यो सम्बन्ध प्रमाणित गर्न बाध्य बनाउयो। कल्पना मात्र गर्नुहोस्, यसले हामीजस्तो विदेशमा रहेका नेपालीलाई कस्तो सन्देश दियो होला ?

हामीलाई गर्व गर । पैसा पठाऊ । नेपालमा लगानी गर । नेपालको प्रचार गर । आफ्नो ज्ञान नेपालमा ल्याऊ । हामीलाई अन्तर्राष्ट्रिय सम्बन्ध जोड्न सहयोग गर । हामीलाई आवश्यक पर्दा नेपाल फर्क । तर आफ्नो अधिकारको कुरा नगर । यो डायस्पोरा नीति होइन । यो राजनीतिक विरोधाभास हो । मानिस बसाइँ सर्छन् । देश परिवर्तन हुन्छन् । नागरिकता परिवर्तन हुन्छ । परिवार अन्तर्राष्ट्रिय बन्छन् । बच्चाहरू आफ्ना आमाबुबाले कहिल्यै नसोचेका देशमा जन्मिन्छन् । यही आधुनिक संसार हो । अमेरिकी नागरिक बनेको नेपालीले अनिवार्य रूपमा नेपालीपन गुमाउँदैन ।

बेलायती नागरिक बनेको नेपालीले नेपालको इतिहास मेटाउँदैन । अष्ट्रेलियाको नागरिक बनेको नेपालीले आफ्ना आमाबुबाको गाउँ बिर्सिँदैन । पहिचान स्मृति र जीवनको हिस्सा हो । नेपालले यही वास्तविकतालाई स्वीकार गर्ने कानुन बनाउनुपर्छ । मानिसलाई आफू बस्ने देश र आफू जन्मिएको देशमध्ये एउटा रोज्न बाध्य पार्ने मानसिकता अब पुरानो भइसक्यो । नेपालले आफ्नो सार्वभौमसत्ता त्याग्नुपर्दैन । राष्ट्रिय हित त्याग्नुपर्दैन।नेपालले डायस्पोरालाई सुविधाअनुसार मात्र आफ्नो भन्न बन्द गर्नुपर्छ ।

सबैभन्दा ठूलो अपमान नेपाली विदेश गएकोमा होइन । सबैभन्दा ठूलो अपमान उनीहरू विदेश गएपछि उनीहरूको महत्व समाप्त भएको जस्तो व्यवहार गर्नुमा छ। डायस्पोरा नेपालको हराएको पुस्ता होइन । यो नेपालको विश्वव्यापी पुस्ता हो । न्युयोर्कका डाक्टरहरू । लन्डनका इन्जिनियरहरू । सिड्नीका उद्यमीहरू । टोरोन्टोका प्राध्यापकहरू । बेलायतका सैनिकहरू । खाडी मुलुकमा काम गर्ने श्रमिकहरू । अमेरिकाका व्यवसायीहरू। विदेशी विश्वविद्यालयमा अनुसन्धान गर्ने नेपालीहरू।

हरेक महिना घर पैसा पठाउने श्रमिकहरू । विदेशमा जन्मिएर पनि आफ्ना आमाबुबाको भाषा, संस्कृति र इतिहास बोकेर हिँडिरहेका दोस्रो पुस्ताका नेपालीहरू। उनीहरू पराइ होइनन् । उनीहरू नेपालको कथाको हिस्सा हुन् । र निम्सदाइको जीवनले यही कुरा सम्झाउँछ। उनको शरीरलाई हिमालबाट तल ल्याइयो तर उनको कथा हिमपहिरोमुनि गाडिनु हुँदैन , गाडिरहन दिनु हुदैन ।

यदि म निम्सदाइ भएको भए, सायद आफ्नो इच्छापत्रमा एउटा अन्तिम इच्छा लेख्थेँ होला – मेरो यात्रा सकिएपछि मलाई हिमालमै फर्काइदिनू । न त उनको पासपोर्टले भनेको भएर वा सरकारले अनुमति दिएको भएर । तर किनभने कहिलेकाहीँ मानिस हजारौँ माइल टाढा पुगे पनि जन्मिएको ठाउँ उसको मनमा घर भएर बसिरहन्छ, आत्मामा बसिरहन्छ । यसका लागि नेपालले अर्को कुनै महान व्यक्तिको मृत्यु कुर्नु नपरोस् । अर्को सगरमाथा आरोहण कुर्नु नपरोस् । अर्को पदक कुर्नु नपरोस् । अर्को रेमिट्यान्स कुर्नु नपरोस् । अर्को अन्तर्राष्ट्रिय सफलता कुर्नु नपरोस् । अर्को अन्त्येष्टि कुर्नु नपरोस् ।

नेपालले आफ्ना डायस्पोरा वास्तवमै आफ्ना हुन् कि केवल उनीहरूको सफलतामा गर्व गर्ने मानिसहरू हुन् त्यो निर्णय अब गर्नुपर्ने बेला भएको छ। किनभने प्रश्न अब यो होइन कि डायस्पोरा नेपाली नेपालका हुन् वा होइनन् । लाखौँ नेपालीलाई त्यसको उत्तर पहिले नै थाहा छ । प्रश्न यो हो कि, नेपालको राजनीतिक प्रणाली उनीहरूलाई स्वीकार गर्ने गरी परिपक्व भएको छ कि छैन ? नेपालले अब पनि भन्न मिल्दैन “हामीलाई चाहिँदा तिमी नेपाली, तर तिमीलाई चाहिँदा विदेशी।  यो राजनीतिक सुविधा हो । र सायद अब नेपालका नेताहरूले चढ्नुपर्ने हिमाल सगरमाथा, अन्नपूर्ण वा ब्रड पिक होइन । त्यो हिमाल उनीहरूको आफ्नै राजनीतिक हिच्किचाहट हो ।

लाखौँ नेपालीहरू पहिल्यै त्यो हिमालको पल्लो छेउमा छन् । नेपालले अब पुल बनाउने हो कि पर्खाल ?  निर्णय गर्न मात्र बाँकी छ । गैरआवासिय नेपाली संघले २३ बर्ष यहि मुद्दामा लडिरह्यो, हामीलाई नेपाली हुन गर्व छ, सबै गैरआवासियहरूलाई एकदिन पशुपतिकै पानीलाई छोएर नै अन्तिम विश्राम लिने चाजोपॉंजो मिलाउनु छ ।

प्रतिक्रिया दिनुहोस्