२१ बैशाख २०८१, शुक्रबार

नेकपा एसद्वारा दशौं महाधिवेशन सम्बन्धि कार्य तालिका सार्वजनिक

कोलोराडोखबर संवाददाता , April 20th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) को आगामी दशौं महाधिवेशन सम्बन्धि कार्य तालिका सार्वजनिक भएको छ । वैशाख ५ गते बसेको केन्द्रीय सचिवालय बैठकबाट पारित भएको कार्यतालिका बिहिबार सार्वजनिक गरिएको हो ।

पार्टीका महासचिव घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयको ८० औं बैठक २०८१ बैशाख ५ गते पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको अध्यक्षतामा बस्यो । बैठकले आगामी दशौं राष्ट्रिय महाधिवेशन सम्बन्धमा निम्न निर्णयहरु गरेको छः

१. दशौं राष्ट्रिय महाधिवेशनबारे

पार्टीको दशौं राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३९७ गते काठमाडौंमा गर्ने निर्णय भएकोमा राष्ट्रिय राजनीतिक समीकरणमा फेरबदलले केही समय लिएको, सङ्गठित सदस्यता वितरणको समय बढाउनु परेको, दस्तावेज लेखन र छलफलले केही समय लिएको र यसैबीचमा इलाममा प्रतिनिधिसभा तथा प्रदेशसभाको उपनिर्वाचन पर्न गएको हुँदा महाधिवेशनको समय तालिका पुनर्संयोजन गरिएको छ ।

क) दशौं राष्ट्रिय महाधिवेशन २०८१ आषाढ १६–२० गते काठमाडौँमा आयोजना गर्ने ।

सबै कमिटी, विभाग र फाँटले सङ्गठित सदस्यता प्रदान र नवीकरणको सबै प्रकिया पुरा गरि शुल्क सहितको विवरण २०८१ बैशाख १५ गते भित्रै पार्टी केन्द्रीय संगठन विभागमा पठाई सक्ने। बैशाख १५ पछि प्रदान गरिएका र नवीकरण गरिएका सङ्गठित सदस्यहरुलाई यस महाधिवेशन प्रयोजनका लागि समावेश गरिने छैन ।

केन्द्रीय संगठन विभागले २०८१ साल बैशाख ३० गते सम्ममा सदस्यता प्रमाणित गरी सम्बन्धित कमिटीमा पठाइसक्ने छ।

महाधिवेशनलाई केन्द्रीत गरी बैशाख २६ गते स्थायी कमिटी २७ गते पोलिटब्युरो तथा २८ र २९ गते केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने ।

ख) जेठ ९ गते सम्ममा सबै कमिटीहरुमा महाधिवेशनका लागि प्रस्तत मस्यौदा दस्तावेज पठाइसक्ने ।

जेठ १० गते देखि जेठ ३२ गतेसम्म मस्यौदा दस्तावेजहरुमाथि सबै कमिटीले आफ्नो कार्यक्षेत्रमा पार्टी सङ्गठित सदस्यहरुलाई सहभागी गराई छलफल आयोजना गर्ने ।

ग) प्रतिनिधि निर्वाचन
मिति २०८१ आषाढ १ गते सबै क्षेत्रमा प्रतिनिधि छनोट गर्ने र आषाढ ५ गते भित्रमा महाधिवेशन प्रतिनिधिको फोटो सहितको विवरण र निर्धारित शुल्क सहित पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्ने।

प्रतिक्रिया दिनुहोस्