११ असार २०८३, बिहीबार

एनआरएनए, नेपाल रेडक्रस र आईएफआरसीबीच मानवीय सहकार्य विस्तार गर्ने समझदारी

कोलोराडोखबर संवाददाता , June 25th, 2026

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (आईएफआरसी) बीच मानवीय सहायता, विपद् पूर्वतयारी, जलवायु उत्थानशीलता तथा प्रवासी नेपालीहरूको सहभागिता अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

काठमाडौँको कालीमाटीस्थित आईएफआरसी कार्यालयमा आयोजित संयुक्त बैठकमा एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र वरिष्ठ अधिकृत कुनाल मिश्रले संघको तर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो भने भर्चुअल माध्यमबाट अध्यक्ष डा. हेमराज शर्मा, महासचिव डा चिरन्जीवी खड्का लगायतका पधाधिकारी जोडिनुभएको थियो l यस्तै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालसहितको टोली तथा आईएफआरसीका प्रतिनिधिमण्डल प्रमुख डेभिड फिसर सहभागी हुनुहुन्थ्यो।

बैठकमा बोल्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विश्वभर फैलिएको गैरआवासीय नेपाली समुदायको सञ्जाललाई नेपालको मानवीय सेवा र विपद् व्यवस्थापनमा थप प्रभावकारी रूपमा परिचालन गर्न सकिने बताउनुभयो। उहाँले नेपालमा आउने प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थाहरूमा प्रवासी नेपालीहरूले विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै अब त्यसलाई संस्थागत र दिगो ढंगले अगाडि बढाउन आवश्यक रहेको धारणा राख्नुभयो।

एनआरएनएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र कुमार राउतले प्रस्तावित सहकार्यले विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई मानवीय अभियानसँग जोड्ने नयाँ अवसर सिर्जना गर्ने बताउनुभयो। उहाँले डिजिटल माध्यमबाट स्रोत परिचालन, पारदर्शी प्रतिवेदन प्रणाली तथा समन्वित कार्यप्रणालीमार्फत सहयोगलाई अझ प्रभावकारी र विश्वासयोग्य बनाउन सकिने उल्लेख गर्नुभयो। साथै, आगामी मनसुनलाई लक्षित गरी सञ्चालन गरिने पाइलट कार्यक्रमले भविष्यका दीर्घकालीन सहकार्यका लागि आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालले रेडक्रसको देशव्यापी सञ्जाल, स्वयंसेवक परिचालन क्षमता तथा पारदर्शी वित्तीय व्यवस्थापन प्रणालीबारे जानकारी गराउँदै विपद् प्रभावित समुदायसम्म छिटो र प्रभावकारी रूपमा सहायता पुर्‍याउन संस्थाले निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले एनआरएनए र आईएफआरसीसँगको सहकार्यले मानवीय सेवाको दायरा थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।

आईएफआरसीका प्रतिनिधिमण्डल प्रमुख डेभिड फिसरले विश्वका विभिन्न देशहरूमा रहेका एनआरएनए राष्ट्रिय समन्वय परिषद्हरूसँग सहकार्य विस्तार गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुभयो। उहाँले परिवार पुनःसम्पर्क सेवा (Restoring Family Links), आप्रवासी सहायता, स्वयंसेवा, क्षमता विकास तथा मानवीय कूटनीतिका क्षेत्रमा संयुक्त प्रयासले सकारात्मक परिणाम ल्याउने बताउनुभयो।
बैठकमा सार्वजनिक स्वास्थ्य, समुदायको उत्थानशीलता, विपद् पूर्वतयारी, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, युवा सहभागिता, स्वयंसेवक परिचालन, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानलाई सहकार्यका प्रमुख क्षेत्रका रूपमा पहिचान गरिएको थियो।

छलफलका क्रममा आईएफआरसीले विभिन्न मुलुकमा रहेका एनआरएनए राष्ट्रिय समन्वय परिषद्हरूसँग परिवार पुनःसम्पर्क (RFL) कार्यक्रमअन्तर्गत भइरहेको सहकार्यबारे जानकारी गराउँदै जोखिममा परेका आप्रवासी, परिवारबाट छुट्टिएका व्यक्तिहरू तथा मानवीय सहायता आवश्यक पर्ने समुदायलाई सहयोग पुर्‍याउन थप सहकार्य आवश्यक रहेको जनाएको थियो।

बैठकले सन् २०२६ को मनसुन अवधिमा संयुक्त पाइलट कार्यक्रम सञ्चालन गर्ने सहमति गरेको छ। कार्यक्रमअन्तर्गत प्रवासी नेपाली समुदायमार्फत राहत कोष संकलन, नेपाल रेडक्रसलाई डिजिटल माध्यमबाट प्रत्यक्ष सहयोग, नियमित वित्तीय तथा कार्यगत प्रतिवेदन, संयुक्त सूचना प्रवाह तथा समन्वय संयन्त्र स्थापना गरिनेछ।
सहभागीहरूले मानवीय सहायता, विपद् प्रतिकार्य, युवा सहभागिता, स्वयंसेवक परिचालन तथा समुदायको उत्थानशीलता अभिवृद्धिमा केन्द्रित सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, मानवीय नवप्रवर्तन, ज्ञान तथा सीप आदानप्रदान, स्वयंसेवक विनिमय र विपद् पूर्वतयारीका क्षेत्रमा दीर्घकालीन सहकार्यका सम्भावनाबारे थप अध्ययन गर्ने सहमति भएको छ।

बैठकले आगामी अगस्ट २०२६ भित्र एनआरएनए, नेपाल रेडक्रस सोसाइटी र आईएफआरसीबीच औपचारिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने तथा जुलाई महिनाको मध्यसम्म पाइलट कार्यक्रमको कार्यविधि अन्तिम रूप दिने लक्ष्य निर्धारण गरेको छ।

बैठकको अन्त्यमा सहभागीहरूले मानवीय सहायता, विपद् व्यवस्थापन, जलवायु उत्थानशीलता तथा समन्वित आपत्कालीन प्रतिकार्यलाई प्रभावकारी बनाउन तीन संस्थाबीचको सहकार्यलाई औपचारिक तथा दीर्घकालीन रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्