नेपाल । काठमाडौँ महानगरपालिकाको वडा नं १८ ले तपिंताँ पार्कमा महानगरपालिकाका पूर्व प्रमुख स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह) को प्रतिमा स्थापना गरेको छ।
शनिबार आयोजित एक कार्यक्रमबिच महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले प्रतिमा अनावरण गर्नुभयो । कार्यक्रममा स्वर्गीय सिंहको स्मृतिमा एक मिनेट मौनधारण गर्नुका साथै प्रतिमामा पुष्पगुच्छा अर्पण गरिएको थियो।
सो अवसरमा कार्यवाहक प्रमुख डङ्गोलसहित विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सिंहका परिवारका सदस्य र स्थानीय बासिन्दाको सहभागिता थियो।
मूर्तिकार श्याम तुलाधरले निर्माण गर्नुभएको धातुको सो प्रतिमा करिब नौ लाख ३८ हजार रुपियाँको लागतमा तयार भएको हो। वडा कार्यालयले यसअघि पुष्पलाल पार्कमा मनमोहन अधिकारी, मदन भण्डारी, पुष्पलाल श्रेष्ठ, पद्मरत्न तुलाधर र शङ्खधर साख्वाको प्रतिमा स्थापना गरिसकेको छ। यस्तै किलागलमा नारायणगोपालको, तुन्छे गल्लीमा चित्तधर हृदयको र वडा कार्यालयमा चन्द्रानन्द नेवाको प्रतिमा स्थापना गरिएको छ।
वडामा जन्मिएर वा बसोबास गरी राजनीति, गीत–सङ्गीत, सामाजिक सेवालगायतका क्षेत्रबाट वडाको पहिचान अभिवृद्धि गर्न योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मानमा प्रतिमा राखिएको वडा कार्यालयले जनाएको छ।
प्रजातन्त्र पुनर्स्थापनापछि वि.सं. २०४९ को स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाको प्रमुखका रूपमा निर्वाचित सिंहले २०५२ साल मङ्सिर २९ गते महानगरपालिका घोषणा गराएर प्रथम महानगर प्रमुख बन्नुभएको थियो। वि.सं. १९९६ चैत ११ गते ताम्सिपाखामा जन्मनुभएका सिंहको २०८१ साल पुस १ गते निधन भएको थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्