नेपाल । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री थापाले प्रदेश सभाको मङ्गलबार बसेको बैठकबाट विश्वासको मत पाउनुभएको हो ।
१०४ प्रदेशसभा सदस्य कायम रहेको बागमती प्रदेश सभाको मङ्गलबारको बैठक मतदानमा उपस्थित ५८ जना प्रदेशसभा सदस्य रहेकोमा मुख्यमन्त्री थापाले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ५७ मत प्राप्त गर्नुभयो । विपक्षमा शून्य मत परेको प्रदेश सभाको अध्यक्षता गर्नुभएका उपसभामुख अप्सरा चापागाईले जानकारी दिनुभयो ।
उहाँले मुख्यमन्त्री थापाले विश्वासको मतको लागि राख्नुभएको प्रस्तावको पक्षमा ५७ मत परेको र उक्त सङ्ख्या प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्री थापाले राख्नुभएको विश्वासको प्रस्ताव बहुमतले पारित भएको चापागाईले घोषणा गर्नुभयो । विश्वासको मतको विपक्षमा मत नै परेन ।
विश्वासको मतको प्रयोजनका लागि बोलाइएको बैठक प्रतिपक्षीविहीन बनेको थियो । बागमती प्रदेशमा विश्वासको मत लिने समयमा प्रदेशसभा प्रतिपक्षी दलविहीन बनेको यो पहिलो पटक हो । राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा पक्ष पनि बैठकमा सहभागी भएन ।
नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थित हुनु भएन । मुख्यमन्त्रीले राख्नु भएको विश्वासको मत माथिको प्रस्तावको पक्षमा नेकपा, नेकपा (एमाले) र राप्रपाको एउटा पक्षले मत दिएका छन् ।
बागमती प्रदेश सभामा नेकपामा २६, एमालेका २५ र राप्रपाका १२ जना प्रदेशसभा सदस्य रहेका छन् । मुख्यमन्त्री थापा नेकपा, एमाले र राप्रपाको समर्थनमा यही भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्