१९ बैशाख २०८३, शनिबार

छिमेकी मुलुकसँगको समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टिकोण आवश्यकः गगन थापा

कोलोराडोखबर संवाददाता , May 2nd, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छिमेकी मुलुकहरूसँगका विद्यमान समस्या समाधानका लागि नेपालले स्पष्ट र साझा राष्ट्रिय दृष्टिकोणका साथ कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परराष्ट्र नीतिका सवालमा सिङ्गो मुलुक एक ठाउँमा उभिएर छिमेकी देशहरूसँग संवाद गर्नुपर्ने आवश्यकता औंल्याए।

सभापति थापाले विशेष गरी भारत सरकारले नेपाली चियामा हालै लगाएको करका कारण नेपालको चिया उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । एउटा ठुलो उद्योगका रूपमा स्थापित हुँदै गरेको चिया क्षेत्र भारतीय करका कारण ुचौपटु हुने स्थितिमा पुगेकाले सरकारले तत्काल कूटनीतिक संवादमार्फत नेपाली उत्पादनलाई सहुलियत दिलाउनुपर्ने उनको माग छ ।

त्यस्तै, चीनसँगको व्यापारिक सम्बन्धका बारेमा बोल्दै थापाले उत्तरी नाकाहरूमा भइरहेको अवरोधप्रति चासो व्यक्त गरे। दैनिक ५०औँको सङ्ख्यामा मालबाहक सवारी साधन आवतजावत हुनुपर्ने ठाउँमा हाल दैनिक ४–७ वटा मात्र गाडी छोडिनुले नेपाली व्यापारी र समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको उनले बताए। नाकाको अवरोध हटाउन र सहज व्यापारिक वातावरण निर्माणका लागि सरकारले ढिला नगरी पहल गर्नुपर्नेमा उनले जोड दिए।

लिपुलेकको विषयमा भारत र चीनबीच भइरहेका छलफल र सहमतिप्रति लक्षित गर्दै थापाले यस्ता संवेदनशील मुद्दामा नेपालको उपस्थिति र अडान स्पष्ट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्