नेपाल । प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन्। उनीहरूले शुक्रबारनै पदबहाली पनि गरेका छन्।
शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानुन, न्याय तथा संसमदीय मामिलामन्त्री सोबिता गौतम, राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, राजनीतिक दलका संसदीय दलका पदाधिकारीलगायत उपस्थित थिए।
नवनिर्वाचितहरूमा अर्थ समितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा रहेका छन् ।
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का निर्वाचित भएका थिए।
यसैगरी महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरी निर्वाचित भएका थिए।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा ओजस्वी शेरचन, संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापतिमा गणेश कार्की निर्वाचित भए।
शिक्षा समिति र राज्यका निर्देशकमा दुई–दुई जनाको उम्मेदवारी परेपछि ध्वनि मतका आधारमा रास्वपाका उम्मेदवार निर्वाचित भए। सभापति चयन गर्न भएको समितिको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यले गरेका थिए।
निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका छन्।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्