५ बैशाख २०८३, शनिबार

लघुकथा: श्रमशोषण

कोलोराडोखबर संवाददाता , April 18th, 2026

-आरसी रिजाल-
आज एउटा खाजा पसलमा छिरेँ। पसल्नी अधबैंसे देखिन्छे। एकजना ७५ नाघेका बुढि आम्वैले हात कमाउँदै प्लेट धुँदै गरेको देखेँ। केहिबेरपछि बुढीलाई चाउमीन खानदिए।हात थरथराउँदै खादै थिइन्।चाउमिनका केही ल्यान्द्रो उनको धोतीमा खस्ते।मुस्किलले समाएर फेरि गिँजामात्रको मुखले पाकुम पाकुमगर्दै चपाउथिन्।

यस्तो बुढीमान्छेलाई किन काम लगाएका होलान् भनेर मैले अगाडि बसेकी नियमित खाजाखान आउने महिला कर्मचारीलाई सोधेँ ।उनले — यी आम्वै काम नगरी बस्नै सक्तिनन् रे! यिनको मायाले होला पसलको नामै “आमाको खाजाघर” राखेका छ भननिन्।

म निस्कदा उनै कुप्री आमा चिनी लिएर फर्कदैँ थिइन् । मैले — ए आमा यो उमेरमा आराम गरेर बस्ने हो,किन यत्रो दुख गर्नु भएको भन्दा बुढियाले– के गर्नु बाबू!काम नगरे खानै दिँदैनन् भनिन् ।

मलाई लाग्छ– यिनले काम गरेबापत त्यही चाउमिन खाजा र दिउँसो पकाएको वा हिजोदेखि नबिकेका बासी खाना साँझमा दिँदाहुन् । यसबारे पसल्नीलाई सोधपुछ गरौँ– तँलाई के मतलब ? भन्लिन भन्ने त्रास। फेरि ग्राहक महिलाबाट उत्तर पहिला नै सुनिसकेँ । प्रशासनले होटलमा छापामारेर योनधन्दामा फसाइएका बालिका र बालश्रमलाई छुटाएको समाचार त सुनेको र पढेको थिएँ।तर यस्तो हृदयबिदारक वृद्ध श्रमशोषण देखेको थिइनँ ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्