२४ जेष्ठ २०८३, आईतवार

‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुन नेता तथा कार्यकर्तालाई सभापति लामिछानेको आह्वान

कोलोराडोखबर संवाददाता , June 7th, 2026

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र व्यक्तिगत स्वार्थ र सङ्कुचित चिन्ता त्यागेर ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रिया अन्तर्गत जिल्ला अधिवेशनका अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएर पार्टीको अनन्तकालीन जीवन, विधि(पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताउनुभएको छ ।

सभापति लामिछानेले पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै रास्वपाको संस्कार भएको स्पष्ट पार्नुभयो ।

पार्टीलाई उन्नत लोकतान्त्रिक शक्ति बनाउने लक्ष्य लिइएको बताउनुहुँदै उहाँले विचार मात्र नभएर शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्