३० जेष्ठ २०८३, शनिबार

कविता: लय

कोलोराडोखबर संवाददाता , June 13th, 2026

-सुदीपभद्र खनाल-

हुन्नन् कैल्यै पनि विरहका सृष्टिमा गीत अन्त
हुन्नन् कैल्यै पनि जठरका अग्नि थाकेर शान्त
हुन्नन् शोभा विहिन वनका फूल देदिप्यमान
खुल्छन् नौला युग जब घना रात सिद्दिन्छ जान

चाहे धर्ती परिमिलित होस् कालिमामै दिगन्त
हुन्नन् रत्तिभर किरणका पुञ्ज आलोक मन्द
जस्तै होउन् मद घनघटा युक्त चर्का अनन्त
हुन्नन् कैल्यै पनि तिमिरका शक्तिले भोर अन्त

जस्तै छोपुन् गिरि रव घटा मैलिदैँनन् सफाइ
जस्तै छोउन् चुलि पथिकले होचिँदैनन् उचाइ
जस्तै आओस् सननन हुरी हुन्न संसार अन्त
जित्ने कालै पनि प्रकृति मा जिन्दगीको प्रवन्ध

बग्ने खोला सरि छ भवमा जिन्दगीको वहाव
अग्लोहोचो सडक र कतै भीर ठाडा चढाव
जस्तै आउन् उचनिच कसै जीवनी हुन्न अन्त
जित्दैजित्दै रण विविध हो सृष्टि यो दिग्दिगन्त

आओस् झञ्झा कुसुमवनको यो छटा रित्तिदैँन
जस्तै आउन् शिशिर तर वैशाख रित्तो हुँदैन
नाघी लाखौ कहर भवमा खुल्छ यो जिन्दगानी
यो हो आफ्नै लय प्रकृतिको नित्य जानी नजानी

-केन्द्रीय उपाध्यक्ष, अनेसास ।

प्रतिक्रिया दिनुहोस्