२५ जेष्ठ २०८३, सोमबार

हरिदेवी कोइरालाको कवितासङ्ग्रह ‘मायाको भूगोल’ बजारमा

कोलोराडोखबर संवाददाता , June 8th, 2026

नेपाल । अग्रज लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालाको कवितासङ्ग्रह ‘मायाको भूगोल’ बजारमा आएको छ ।

हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोषले पोखरामा आयोजना गरेको कार्यक्रममा कृति लोकार्पण गरिएको हो ।

कोइरालाको १२ औँ साहित्यिक कृति हो। लोकगीतको क्षेत्रमा पृथक पहिचान बनाउनुभएकी कोइरालाका कविता, गीत र मुक्तक सञ्चयनहरू बजारमा आएका छन् ।

‘मायाको भूगोल’ मा ९३ कविता सङ्गृहीत छन् । “यसमा गद्य र पद्य दुवै थरी कविता छन्,” उहाँले भन्नुभयो, “एउटा खण्डमा अग्रज सर्जकको सम्मान र स्मृतिमा लेखिएका कविता छन् भने अर्को खण्डमा प्रकृति, संस्कृति, अहिलेको जनजीवनलाई उतार्ने कोसिस गरेकी छु ।”

अग्रज स्रष्टाहरू अम्बर गुरुङ, योगमाया, पारिजात, सत्यमोहन जोशी, झलकमान गन्धर्व लगायतका २२ जनाको सम्मान र स्मृतिमा लेखिएका कविता सङ्ग्रहमा छन् ।

प्रतिक्रिया दिनुहोस्