नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बिषबस्तुको ज्ञानसहित कडा रुपमा प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
संसदीय दलको बैठक समापनको क्रममा आइतबार दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले संसदमा बोल्दा संसदको रेकर्डबाट ‘शब्द हटाइयोस’ भन्ने माग नगर्न पनि निर्देशन दिनुभयो । संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने बताउँदै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ अध्यक्ष ओलीले पार्टीका सांसदहरुलाई सचेत गराउनु भएको हो ।
उहाँले संसदमा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि सांसदहरुको ध्यानाकर्षण गराउनु भयो । गल्ती बोल्नेका कुरा संसदमा विरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाई थियो । गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाईपाउँ भन्नु स्वभाविक हुने भएपनि अरुले उसको गल्ती सच्याईदिने काम गरिरहन नपर्ने अध्यक्ष ओलीको भनाई छ ।
सांसदले सदनमा बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसदको रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था रहेको छ । ओलीले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्