३१ भाद्र २०८१, सोमबार

नेकपा एसले उमेर हद हटायो, केन्द्रीय कमिटी १९९ जनाको हुने

कोलोराडोखबर संवाददाता , January 30th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) ले पार्टी नेताहरूको उमेर हद नराख्ने भएको छ ।

सोमबार सम्पन्न पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै परिषद् बैठकले सबै पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने विधानमा व्यवस्था गरेको छ ।

दोस्रो केन्द्रीय परिषद् बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष डा. बेदुराम भुसालले सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनहरूबाट प्रत्यक्ष निर्वाचित हुने जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी १९९ जनाको हुनेछ । केन्द्रीय परिषद्को बैठकमा उपाध्यक्ष भुसालले केन्द्रीय कमिटीको पदाधिकारीको संख्या १९ हुने जानकारी दिनुभयो । त्यस्तै प्रदेश कमिटीको सङ्ख्या ७५ देखि ९९ सम्म हुने र प्रदेश कमिटीको पदाधिकारीको सङ्ख्या ७ हुने विधानमा व्यवस्था गरेको छ ।

प्रदेश पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र तीन उपसचिव हुने व्यवस्था गरेको सो पार्टीले जिल्ला कमिटी ५५ सदस्यीय बनाउने भएको छ । तर, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा ३ महिला थपिने छन्। त्यस्तै जिल्ला कमिटीका पदाधिकारीको सङ्ख्या पनि सात नै रहने भएको छ । जुन हाल पनि कायम छ ।

त्यस्तै पालिका कमिटीको सङ्ख्या ४५ बनाउने परिषद् बैठकले पारित गरेको छ । तर ५ भन्दा बढी वडा भएका पालिकामा प्रत्येक वडाबाट २ जना थप्ने निर्णय पारित भएको छ । परिषद्ले गरेका निर्णयलाई हलले ताली बजाएर अनुमोदन गरेको थियो ।

यसैबीच, नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी १९९ जनाको हुने भएको छ ।

यहि माघ १४ र १५ गते राजधानीको प्रज्ञाभवनमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय परिषद् वैठकले उक्त निर्णय गरेको हो । त्यस्तै वैठकले केन्द्रीय पदाधिकारी १९ जना, प्रदेश कमिटी ७५ जना, जिल्ला कमिटी ५५ जना, पालिका कमिटी ४५ र वडा कमिटी ३५ सदस्सीय हुने निर्णय गरेको छ ।

विधानमा पार्टीका सबै कमिटीहरुमा २० प्रतिशत ४० वर्ष मुनिका युवा रहने व्यवस्था गरिएको छ । एकीकृत समाजवादीको सांठनिक संरचना केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी रहने छ । उक्त प्रावधान संशोधित विधानमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्