नेपाल । काठमाडौँ महानगरपालिका र सांस्कृतिक संस्थानबिच ‘बुक फ्री फ्राइडे, पुस्तकरहित शुक्रबार’ कार्यक्रमलाई निरन्तरता दिने सन्दर्भमा पुनः सम्झौता भएको छ । विगत तीन वर्षदेखि महानगरको गौरवको योजना अन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ मूल भावका साथ सामुदायिक विद्यालयमा लागु गरिएको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिन संस्थान र महानगरबिच सम्झौता भएको हो ।
उक्त सम्झौतामा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन र महानगरका शिक्षा विभाग प्रमुख नमराज ढकालले हस्ताक्षर गर्नुभयो । सङ्गीत ९गायन, वादन र नृत्य० सम्बन्धी प्रशिक्षणलाई निरन्तरता दिने सन्दर्भमा पुनः सम्झौता भएपछि संस्थानले यस आर्थिक वर्षका लागि १६५ जना प्रशिक्षक सूचीकरण गर्ने जनाइएको छ । उक्त कार्यक्रमका लागि सांस्कृतिक संस्थानका महाप्रबन्धक पुनको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ ।
संस्थानका महाप्रबन्धक पुनका अनुसार महानगरको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८३ अनुसार विगत तीन वर्षदेखि महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यार्थीलाई सिपमूलक विभिन्न विधा गायन, वाद्यवादन, नृत्य, नाटक प्रशिक्षणका लागि महानगरले सांस्कृतिक संस्थानसँग सम्झौता गरी विद्यार्थीलाई सिर्जनात्मक अभ्यासका लागि प्रेरित गर्दै आएको छ । सांस्कृतिक संस्थानले महानगरभित्रका ६७ सामुदायिक विद्यालयमा गायन, वाद्यवादन (मादल, धिमे, बाँसुरी, डम्फु), नृत्य विधाको प्रशिक्षण कार्यक्रमका लागि १६५ जना प्रशिक्षक आवश्यक रहेको र इच्छुक व्यक्तिलाई आवश्यक कागजातसहित संस्थानमा वा संस्थानको वेबसाइटमार्फत पाँच दिनभित्र सम्पर्क गर्न सूचना जारी गरेको छ ।
यसै गरी महानगरले चित्रकला, मूर्तिकला विधा अन्तर्गत नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थानका कार्यक्रम तथा योजना शाखा उपप्रमुख तथा उक्त समितिका सदस्य रोहित सुवेदीले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत यस वर्ष नाटकबाहेक सङ्गीतरवाद्यवादन विधा अन्तर्गत ९मादल, धिमे, बाँसुरी, डम्फु०, नृत्य विधामा १६५ उपसमूहलाई प्रशिक्षण दिने बताउनुभयो । उहाँले विगत तीन वर्षदेखि सञ्चालनमा ल्याइएको ‘बुक फ्री फ्राइडे’ का लागि हरेक वर्ष विद्यार्थीको रुचि र उत्साह थपिँदै जाँदा प्रशिक्षक पनि बढाउँदै जानुपर्ने अवस्थाले गीतसङ्गीत, वाद्यवादन कला विधामा पारङ्गत सङ्गीतकर्मी कलाकारले अवसर पाइरहेका छन् भन्नुभयो ।
उपप्रमुख सुवेदीका अनुसार हरेक आवमा सामुदायिक विद्यालयले आआफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीले सिक्न चाहने विधाबारे छलफल गरेर महानगरलाई त्यसबारे जानकारी दिने र महानगरले सोही अनुसार संस्थानसँग आवश्यक सङ्ख्यामा प्रशिक्षक माग गर्ने गरेको छ । यस वर्ष ६७ स्कुलका विद्यार्थीलाई १६५ उपसमूहमा विभाजन गरी प्रशिक्षण दिइने छ । आगामी मङ्सिर ४ देखि चैतसम्ममा २५ वटा कक्षा सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्