नेपाल । विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने घोषणा गरेका छन्।
झन्डै साढे दुई दशक मैदानमा देशको प्रतिनिधित्व गरेका ४१ वर्षीय रोनाल्डोले भावुक सन्देशमार्फत राष्ट्रिय टोलीबाट सन्न्यास लिने निर्णय सार्वजनिक गरेका हुन्। उनको यो घोषणासँगै पोर्चुगलको सात नम्बर जर्सीमा देखिँदै आएको एउटा ऐतिहासिक अध्याय अन्त्य हुने भएको छ।
सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै रोनाल्डोले अब आफ्नो जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्। उनका लागि यो निर्णय सजिलो थिएन। तर, लामो समय देशका लागि खेलेपछि नयाँ पुस्तालाई अवसर दिनुपर्ने समय आएको उनको सन्देश छ।
‘आज यो जर्सी भविष्यको पुस्तालाई हस्तान्तरण गर्ने समय आएको छ। यो सजिलो निर्णय थिएन,’ रोनाल्डोले भनेका छन्, ‘जीवनका केही निर्णय दिमागले मात्रै होइन, मनले पनि गर्नुपर्छ।’ सन् २००३ को अगस्टमा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले त्यसयता फुटबलमा अनेकौँ कीर्तिमान बनाएका छन्। क्लब फुटबलमा मात्र होइन, अन्तर्राष्ट्रिय फुटबलमा पनि उनले आफ्नो छुट्टै पहिचान स्थापित गरे। मैदानमा उनको गति, गोल गर्ने क्षमता, जितप्रतिको भोक र अन्तिम समयसम्म हार नमान्ने स्वभावले उनलाई विश्वभरका फुटबल समर्थकमाझ लोकप्रिय बनायो।
तर, रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई सम्झिँदा गोल, उपाधि र व्यक्तिगत कीर्तिमानलाई मात्र महत्त्व दिएका छैनन्। उनका लागि राष्ट्रिय टोलीको जर्सी लगाउनु देशप्रतिको जिम्मेवारी र करोडौँ समर्थकको भावनासँग जोडिएको विषय हो। उनले विदेशमा बस्ने पोर्चुगिज नागरिकलाई पनि विशेष रूपमा सम्झिएका छन्। देशबाट टाढा रहेपनि राष्ट्रिय टोलीको खेलका ९० मिनेटमा आफ्नो मातृभूमिसँग नजिक भएको महसुस गर्ने समर्थकसँगको सम्बन्ध आफूले कहिल्यै नबिर्सने उनले बताएका छन्।
‘मैले कहिल्यै नभेटेका लाखौँ पोर्चुगिज नागरिक पनि मेरो जीवनको हिस्सा बने,’ उनले भनेका छन्। फुटबल एउटा खेल मात्र नभई मानिसहरूलाई जोड्ने माध्यम भएको उल्लेख गर्दै उनले आफ्नो यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्।
रोनाल्डोको राष्ट्रिय टोलीसँगको सम्बन्ध केवल खेलाडीको भूमिकामा सीमित रहेन। उनले पोर्चुगललाई अन्तर्राष्ट्रिय फुटबलमा नयाँ उचाइ दिलाउन महत्त्वपूर्ण योगदान गरे। सन् २०१६ मा पोर्चुगलले युरोपियन च्याम्पियनसिप ९युरो० जित्दा उनी टोलीका कप्तान थिए। त्यसैगरी, सन् २०१९ मा पहिलो संस्करणको यूईएफए नेसन्स लिगको उपाधि जित्दा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्