१६ कार्तिक २०८३, सोमबार

विनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड-२०२६ को उपाधि

कोलोराडोखबर संवाददाता , November 2nd, 2026

नेपाल । नेपाल राष्ट्र बैंकका उपनिर्देशक विनिता गुरुङले ह्विसपर मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधि जित्नुभएको छ ।

रिबन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा शनिबार राति सम्पन्न सौन्दर्य प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै गुरुङ विजेता बन्नुभएको हो । दिक्तेल, खोटाङकी गुरुङले शीर्ष उपाधि विजेता भएबापत स्कुटर प्राप्त गर्नुभएको छ ।

अधिवक्तासमेत रहेकी उहाँले अमेरिकामा आयोजना हुने विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुहुने छ । गुरुङले बेस्ट पर्सनालिटी उपाधिलाई पनि आफ्नो बनाउनुभयो ।

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित विवाहित सुन्दरीहरूको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगितमा नेहा गुप्ता फर्स्ट रनर्सअपका साथ रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस, ज्योति लामिछाने सेकेन्ड रनर्सअप तथा सगुन खनाल थर्ड रनर्सअपका साथ हर्लिक्स बेस्ट फिजिक चुनिनुभयो ।

यसै गरी शिल्पा न्यौपाने महर्जन मिसेस नेपाल इन्टरनेसनल–२०२६ चुनिनुभयो । क्रिस्टिना ज्ञवाली मिसेस कोस्मो–२०२६ र ऋचा शर्मा एमएस इन्टरनेसनल–२०२६ का विजेता बन्नुभयो । यी उपाधि विजेताले जनही ५० हजार रुपियाँ प्राप्त गर्नुभयो । मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिङ्गापुर तथा मिसेस कोस्मो विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी गराउनुभएको छ ।

सो कार्यक्रममा नेपाली फिल्म क्षेत्रका लोकप्रिय अभिनेतृ निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधिबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्