१५ कार्तिक २०८३, आईतवार

कविता: ब्यानरमा कम्युनिस्ट

कोलोराडोखबर संवाददाता , November 1st, 2026

-आर. आर. चौलागाईं-
जब कुर्सी थिएन उनीहरू ठीक थिए
जब महल थिएन उनीहरू ठीक थिए
जब सम्पत्ति थिएन उनीहरू ठीक थिए ।

कुर्सी पाएपछि उनीहरू हौसिए
महल बनेपछि उनीहरू मात्तिए
सम्पत्ति भएपछि उनीहरू पुलपुलिए ।

कुर्सी पाएपछि उनीहरू सिद्धान्तबाट हराए
महल बनेपछि उनीहरू विचारबाट अस्ताए
सम्पत्ति भएपछि उनीहरू आदर्शबाट टकटकिए ।

जब कुर्सी थिएन उनीहरू कत्ति मिलेका थिए
जब महल थिएन उनीहरू कत्ति बलिया थिए
जब सम्पत्ति थिएन उनीहरू कत्ति नम्र थिए ।

किनकि हिजो उनीहरू कम्युनिस्ट थिए
तर आज उनीहरूसँग कम्युनिस्ट लेखेको ब्यानर मात्रै बाँकी छ ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्