१६ कार्तिक २०८३, सोमबार

बाह्रखरी कथा प्रतियोगितामा १९ मुलुकबाट एक हजार २२९ कथाकार सहभागी

कोलोराडोखबर संवाददाता , November 2nd, 2026

नेपाल । बाह्रखरी कथा प्रतियोगिताको आठौँ संस्करण ‘डिगो बाह्रखरी कथा प्रतियोगिता, २०८३’ मा देशविदेशबाट गरेर एक हजार २२९ कथाकारले सहभागिता जनाएका छन् ।

अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि नयाँ युवा सर्जकहरूसँगै अग्रज तथा स्थापित कथाकारका कथा बाह्रखरी मिडियालाई प्राप्त भएको छ । गत भदौ ४ गते बाह्रखरीले नेपाली भाषामा लेख्ने विश्वभरका कथाकारबाट कथा आह्वान गरेको थियो ।

असोज ३ गते मध्यरातसम्मको समयसीमा तोकिएको उक्त अवधिमा नेपालसहित भारतको दिल्ली, असम, दार्जिलिङ, मुम्बई, सिक्किम, डुवर्स, मेघालयलगायतका स्थानबाट कथा प्राप्त भएका छन् ।

त्यसैगरी चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, कुवेत, साउदी अरब, इजरायल, कम्बोडिया, इन्डोनेसियालगायत मुलुकमा बसोबास गरिरहेका नेपाली कथाकारले कथा पठाएका छन् ।

प्रतियोगितामा प्राप्त एक हजार २२९ मध्ये सर्तअनुरूपको मापदण्डभित्र रहेका कथाबाट आन्तरिक निर्णायक समूहका संयोजक गोविन्द अधिकारीसहित चारजनाको टोलीले उत्कृष्ट ५० कथा चयन गरेको हो ।

यसवर्ष चयन भएका कथाका कथाकारमा अनुप तमु, बद्री अधिकारी, सुयोग ढुंगेल, रामकृपाल महतो, वसन्त बायुङ राई, डा। सुरेन्द्र गैरे, संस्कार चापागाईं, सपना अधिकारी, गरिमा आचार्य, अमित घिमिरे, चेवन शर्मा, दीक्षित केसी, अनिता कोइराला, सुधन सुवेदी, कुशल गौतम, मधुर भट्टराई, ममता राई, प्रकाश राई, डा। सायुज्यराज घिमिरे र निर्मल ढुंगाना रहेका छन् ।

त्यस्तै अन्य कथाकारमा प्रकाश घिमिरे, ममता कुमारी गुप्ता, कान्ति न्यौपाने, सरस्वती सरस, मसान उपासक, अपेक्षा कार्की, डीके विरही, प्रवीण याम्फु, सुमन भण्डारी, सुरज महतो, अजित आचार्य, कृषा दाहाल, पारसप्रकाश नेपाल, ईश्वरी मरहट्टा, वसन्ती श्रेष्ठ, श्रेयज सुवेदी, रजनी ढुंगाना, उमेश अविरल, चेतनाथ आचार्य, दीपेन्द्र विष्ट, राकेशकुमार वर्णवाल, आशिष श्रेष्ठ, रबर्ट जोशी, खेमराज सापकोटा, राजेन्द्र तारकिणी, युवराज भट्टराई, छ्योतिन शेर्पा, दिपेश राई, खुपेन सुनुवार र नन्दबहादुर रोकाया रहेका छन् ।

पहिलो चरणको छनोटमा परेका ५० कथामध्येबाट अग्रज कथाकार भुवन ढुंगानाको संयोजकत्वमा साहित्यकार डा। ज्ञानु अधिकारी र लेखक तथा चलचित्रकर्मी खगेन्द्र लामिछानेसहितको मूल निर्णायक समूहले ‘उत्कृष्ट २५’ कथा छनोट गर्नेछ ।

कथा लेखन प्रतियोगितामा प्रथम हुने कथाकारले नगद राशि दुई लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय र तृतीय हुने कथाकारले क्रमशः एक लाख र ६० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

‘उत्कृष्ट २५ कथा’भित्र पर्ने अरू २२ कथाकारले सात हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । अघिल्ला वर्षहरूझैँ यस वर्ष पनि उत्कृष्ट कथासंग्रहको प्रकाशन फाइनप्रिन्टले गर्नेछ ।

बाह्रखरी मिडियाले आयोजना गर्दै आएको यस कथा प्रतियोगिताको आठौँ संस्करणको टाइटल स्पोन्सर डिगो एप रहेको छ । त्यस्तै, सांस्कृतिक अभियानका लागि सूर्य नेपाल गाथाको साथ रहेको छ ।

प्रतियोगिता सफल बनाउन एनआईएमबी बैंक, नासा सेक्युरिटीज, सिटी एक्सप्रेस मनी ट्रान्सफर, युनाइटेड अजोड इन्स्योरेन्स लि।, यति एयरलाइन्स, वेदालय तथा करुणा फाउन्डेसन नेपालको पनि सहयोग रहेको छ । बाह्रखरी कथा प्रतियोगिताका आन्तरिक मूल्यांकन समितिका संयोजक गोविन्द अधिकारीले सहभागी सम्पूर्ण कथाकार, टाइटल स्पोन्सरसहित सबै स्पोन्सरमा हार्दिक आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्