३ जेष्ठ २०८३, आईतवार

कविता: डोजर महाराज

कोलोराडोखबर संवाददाता , May 16th, 2026

-सर्वज्ञ वाग्ले-
हिमाल आज फेरि रोइरहेको छ
सगरमाथाको चिसो निधारमाथि
कसैले मौन अपमानको आगो राखिदिएको छ ।

महाकालीको पानी
आज नदीजस्तो होइन,
आफ्नो सन्तान गुमाएकी आमाको आँसुजस्तो बगिरहेको छ।

लिपुलेकको बाटोमा
डोजरहरू गुडिरहेका छन्
मानौँ दुर्योधनका रथहरू
पाण्डवको आँगन कुल्चँदै अघि बढिरहेका हुन्।

र सानो नेपाल
चक्रीय कूटनीतिक व्यूहभित्र अभिमन्यू बनेर थुनिएको छ।

सुगौली सन्धिको पुरानो कागज
आज भीष्मपितामहको प्रतिज्ञापत्र भएर
धूलोले ढाकिएको छ
रगतले लेखिएका
इतिहासका पाना बोल्छन्।

शक्तिशाली महाराजहरूको आँखा
कहिले खुडा कहिले धनुकाँण
कहिले मिसाइल त कहिले डोजर बनेर
सधैं नक्सामा मात्र केन्द्रित हुन्छ,
मानिसको पीडामा होइन
एउटा विशाल हस्तिनापुर,
जसको छायाँ यति ठूलो छ
कि छिमेकीका घामहरू पनि हराउन थाल्छन्।

ऊ सडक बनाउँछ,
तर त्यो सडक केवल यात्राको बाटो होइन,
त्यो सिमानामाथि टेकेको
अहंकारको खुट्टा हो
दूर्योधनको पदचाप बोक्ने यो बाटो कहाँ पुग्न उध्यत छ ?
सानो भए पनि कान्तिपुर
उसको इतिहास र अपनत्व
आसामदेखि कस्मिर र भोटदेखि गंगासम्म फैलिएकै छ
हिमालजस्तो मौन देश ।

उसको शक्ति
तोप र ट्याङ्कमा होइन,
उसको माटोमा गाडिएका पुर्खाहरूको आत्मामा छ ।

जसरी अर्जूनको शक्ति सत्य र धर्ममा अडिएको थियो
तर इतिहासले सधैं देखाएको छ
ठूला साम्राज्यहरू महाराझरू
सानो देशको मौनतालाई कमजोरी ठान्छन्।

गुञ्जी, कुटियाङ्दी, लिम्पियाधुरा
यी केवल भूगोलका नाम होइनन्,
यी त नेपाली आमाहरूका निधारका सिन्दूर हुन्।

जब सीमा मिचिन्छ,
केवल माटो हराउँदैन,
एउटा राष्ट्रको आत्मसम्मान च्यातिन्छ।

महाभारतमा
द्रौपदीको चीरहरण हुँदा
सभामा धेरै ज्ञानीहरू मौन थिए।

आज पनि
अन्तर्राष्ट्रिय राजनीति त्यही सभा बनेको छ
जहाँ शक्तिशालीहरू मुस्कुराउँछन्,
र साना राष्ट्रहरूको पीडा
कूटनीतिक शब्दहरूमा हराउँछ।

कैलाश मानसरोवरको बाटो
धर्मको नाममा खोलिएको छ,
तर धर्मको बाटो
अर्काको अधिकार कुल्चेर कहिल्यै बन्दैन।

शिवको पर्वत पुग्ने यात्रामा
यदि न्याय हरायो भने,
त्यो तीर्थ होइन,
अहंकारको यात्रा मात्र हुन्छ।

महाकाली आज
कृष्णझैँ प्रश्न गरिरहेकी छिन्
“सीमा नदीको पानी पिउनेहरू,
किन यति धेरै तिर्खाएका छौ ?”
हिमालले कहिल्यै कसैको भूमि मिचेन,
नदीले कहिल्यै जात सोधेन,
तर मानिस
नक्सामा रेखा कोर्दै
आफ्नै मानवता मेटिरहेछ।

एउटा ठूलो देशले
सानो देशलाई दुःख दिनु
केवल राजनीति होइन,
त्यो नैतिकताको पराजय हो।

किनकि शक्तिको सबैभन्दा ठूलो धर्म
संरक्षण हो,
अतिक्रमण होइन।

र सम्झनुपर्छ
इतिहासका सबै हस्तिनापुरहरू
एकदिन ढलेका छन्।

तर साना देशहरूको आत्मा
हिमालजस्तै अटल छ
कुरु सभामा दुश्साशन पसेजस्तै
फेरी इतिहासको पानामा डोजर पसेको छ
समयको कपाल समात्दै
नेपाल सानो छ,
तर उसको आकाश सानो छैन।

उसको नक्सा च्यात्न सकिएला,
तर उसका जनताको स्मृति
र स्वाभिमान
कुनै साम्राज्यको डोजरले मेट्न सक्दैन।

-केन्द्रीय अध्यक्ष, अनेसास ।

प्रतिक्रिया दिनुहोस्