२३ बैशाख २०८१, आईतवार

कतारी अमिरको नेपाल भ्रमणः विभिन्न सम्झौतामा हस्ताक्षर हुने, बुधबारनै फर्कन

कोलोराडोखबर संवाददाता , April 24th, 2024

नेपाल । मंगलबार अपरान्ह कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको औपचारिक भ्रमणमा आएका छन् ।

यसैक्रममा अल थानीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् ।

वार्तापछि उनीहरू द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान तथा शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम छ ।

नेपालले कतारलाई हात्ती उपहार दिने सम्झौतामा भने अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी भएकाले सम्झौता नहुने भएको छ ।

थानीले मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेट गरेका थिए । कतारी राजाको सम्मानमा राष्ट्रपति पौडेलले रात्रिभोज आयोजना गरेका थिए ।

कतारी अमिरको नेपालमा भव्य स्वागत भएको छ । त्रिभुवन विमानस्थलमा अवतरण गर्दा सम्मानसहित राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

थानी बुधबार अपराह्न स्वदेश फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्