२ भाद्र २०८३, मंगलवार

सर्वोच्च अदालतको आदेशसँगै पत्रकार किशोर श्रेष्ठ थुनामुक्त

कोलोराडोखबर संवाददाता , August 18th, 2026

नेपाल । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ सोमबार सर्वोच्च अदालतको आदेशसँगै थुनामुक्त भएका छन् ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको सोमबारको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै हाजिर जमानी वा तारेखमा राखी मुद्दाको अनुसन्धान गर्न परमादेश जारी गरसँगै उनी थुनामुक्त भएका हुन् ।

उनी एक युवतीको वैयक्तिक गोपनीयतासम्बन्धी अधिकार हनन गरेको आरोपमा २५ साउनदेखि प्रहरी हिरासतमा थिए । तर, सर्वोच्चले श्रेष्ठलाई थुनामै राखी मुद्दाको तहकिकात (प्रमाण जुटाउने) अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएकाले तहकिकात गर्नुपर्ने भए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा छाडी वा तारिखमा राखी मुद्दाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंका नाममा परमादेश जारी गरेको हो ।

सञ्चारमाध्यमका सञ्चार सामग्री जफत नगरिने संवैधानिक प्रावधान रहेकाले प्रहरीले बरामद गरेका सबै सामग्री फिर्ता गर्नसमेत आदेश भएको छ । प्रहरीले जनआस्थाको कार्यालयबाट २७ र २८ साउनमा ६ वटा सिपियू, कम्प्युटर, मोबाइल, ल्यापटप र आइप्याडसमेत बरामद गरी लगेको थियो । सहरजिस्ट्रारको रोहवरमा बरामद गरी प्रहरीको नियन्त्रणमा रहेका सम्पूर्ण सामग्री फिर्ता दिलाउन उक्त इजलासले आदेश गरेको हो ।

श्रेष्ठलाई २५ साउनमा प्रहरीले पक्राउ गरेको थियो । जनआस्था साप्ताहिकमा छापिएको तस्बिर तथा समाचारको सन्दर्भमा उनी पक्राउ परेका थिए । एक युवतीले वैयक्तिक गोपनीयतासम्बन्धी अधिकार हनन भएको भन्दै प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो । जसपछि उनको हकमा उनकी श्रीमती सरस्वती श्रेष्ठले २८ साउनमा रिट दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्