३ मंसिर २०८३, बिहीबार

ठगी गरेको आरोपमा दुई पूर्व मन्त्रीसहित उच्च पदस्थ कर्मचारीहरु पक्राउ

कोलोराडोखबर संवाददाता , November 19th, 2026

नेपाल । वैदेशिक रोजगारीको नाममा गैर कानुनी रुपमा श्रमिकहरुसँग ठगी गरेको आरोपमा दुई पूर्व मन्त्रीसहित उच्च पदस्थ कर्मचारीहरु पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले बुधबार विज्ञप्ति जारी गर्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र रामेश्वरराय यादवलाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्ने उच्च पदस्थ कर्मचारीहरुमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना र राजीव पोखरेल, उपसचिव निर्मला गुरुङ रहेको जनाइएको छ ।

नेपाल र मलेसिसया सरकारबिच भएको समझदारीभन्दा विपरित नेपाली श्रमिकहरुबाट गैर कानुनी रुपमा ८३ लाख ७० हजार ४३९।९२ अमेरिकी डलर र बेलायती पाउण्ड ३७ लाख १५ हजार ९८०।८० गरी कुल १ अर्व ६९ करोड २ लाख २४ हजार २६।७६ नेपाली रुपियाँ ठगी गरिएको आरोप उहाँहरुमाथि लागेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवराले जारी गर्नुभएको विज्ञप्तिीअनुसार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएर नियन्त्रणमा लिइएको छ । सो बारेमा थप अनुसन्धान जारी रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाट समेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट मङ्गलबार पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि प्रहरी टोलीले काठमाडौँ, ललितपुर र सर्लाहीको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक जबराले पक्राउ परेका सबैमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्