३ मंसिर २०८३, बिहीबार

काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा

कोलोराडोखबर संवाददाता , November 19th, 2026

नेपाल । कमिल मिसराको कीर्तिमानी शतक र बलरहरूको कसिलो प्रदर्शनमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

काठमान्डुका लागि विलियम बोसिस्टोले ३७ र भीम सार्कीले अविजित ३० रन बनाउनुभयो । सहान अराचिगेले २४ रन जोड्दा राशिद खानले १२ रन बनाउनुभयो । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

चितवनका रिजन ढकालले प्रारम्भिक दुई विकेट लिएपछि काठमान्डुले लय समात्न सकेन । मध्यक्रममा बोसिस्टो र राशिद खानले केही समय इनिङ्स सम्हाल्ने प्रयास गरे पनि ठूलो साझेदारी हुन सकेन ।

चितवनका लागि रिजन ढकालले चार ओभरमा १६ रन खर्चेर चार विकेट लिनुभयो । उसामा मिरले १५ रन दिँदै तीन विकेट लिनुभयो । कुशल मल्ल र सलाउद्दिन खानले एक–एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले चार विकेट गुमाएर २०४ रन बनाएको थियो । टोलीका लागि कमिल मिसरा ५९ बलमा पाँच चौका र १० छक्कासहित अविजित १२० रन बनाउनुभयो । उहाँको यो शतक एनपिएल इतिहासकै उच्च व्यक्तिगत स्कोर हो ।

मिसराले कप्तान रवि बोपारासँग तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गर्नुभएको थियो । बोपाराले ४२ बलमा ५३ रन बनाउनुभयो । करण केसीले देव खनाल र डेभिड मलानलाई लगातार बलमा आउट गरेपछि २२ रनमै दुई विकेट गुमाएको चितवनलाई मिसरा र बोपाराको साझेदारीले बलियो अवस्थामा पुर्‍याएको थियो ।

मिसराको शतक जारी सिजनको दोस्रो तथा एनपिएल इतिहासको पाँचौँ शतक हो । उहाँले यसअघि मार्क वाटले बनाएको अविजित ११४ रनको कीर्तिमानसमेत तोड्नुभयो ।

अब चितवनले बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा पहिलो क्वालिफायर विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्