२९ कार्तिक २०८३, आईतवार

लघुकथाः कर्मखोटो

कोलोराडोखबर संवाददाता , November 15th, 2026

-आरसी रिजाल-
नारन पाँचबर्षको भयो। उसले तिनबर्षे उमेरदेखि आमालाई आफ्नो छाप्रोमा झिलिमिली बत्ती नबालेको कारण तिहारमा लक्ष्मी माता नआएर हामी गरिब भएको हो कि भनी सोध्दै आएकोमा यसबर्ष आमाचैँले — ” होइन बाबु हाम्रो जन्मनै गरिब कुलमा भएर हो ” भनिन्।

छोराले– ” तपाइले बोतामा चामल राखेर पुरानो दियोमा बत्ती बाल्नु हुन्छ । छाप्रोभित्र दियोको मधुरो उज्यालो लक्ष्मी माताले नदेखेर न आउने हुन कि ? ” भन्यो।

भोलिपल्ट झिस्मिसेमा आमाले — नारन आज तँ कति छिटो ब्युँझेको भनिन्। उसले — “तपाइले लक्ष्मी पुजाको दिन गरीब धनी सबैको घरमा राती विभिन्न रुप धारण गरेर लक्ष्मी आउछिन भनेकोले हेर्न बसेको । म निदाएकै छैन्। मुसीको रुपमा आएकी हुन कि बोताको चामल सप्पै खाएर गइन ” भन्यो ।

आमाचैंले — ल हेर ! गणेशको बाहनले चामल भसक्कै पारेछ। देखेपछि खेदन पर्दैन। त्यही चामलको भात पकाएर खान दिउँला भनेको त । खाइस् अब भात तँलाई कर्मखोटो भन्दै हकारिन। उ रनभुल्ल परेर आमालाई हेरिरह्यो।।।

-हेटौंडा, मककवानपुर ।

प्रतिक्रिया दिनुहोस्