३ मंसिर २०८३, बिहीबार

बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ चयन

कोलोराडोखबर संवाददाता , November 19th, 2026

नेपाल । आठौँ संस्करणको डिगो बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८३’का लागि प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरू चयन भएको छ ।

बाह्रखरी कथा लेखन प्रतियोगिता २०८३ को मूल निर्णायक समूहका संयोजक अग्रज कथाकार भुवन ढुङ्गाना तथा सदस्यहरू समालोचक तथा साहित्यकार डा। ज्ञानु अधिकारी र लेखक तथा चलचित्रकर्मी खगेन्द्र लामिछाने सम्मिलित टोलीले उत्कृष्ट २५ कथा चयन गरेको हो ।

यस वर्षका उत्कृष्ट २५ मा पर्न सफल कथाका कथाकारहरूमा अनिता कोइराला, अपेक्षा कार्की, आशीष श्रेष्ठ, कान्ति न्यौपाने, कुशल गौतम, गरिमा आचार्य, चेतनाथ आचार्य, चेबन शर्मा, दीपेन्द्र विष्ट, निर्मल ढुंगाना, प्रकाश राई, प्रवीण याम्फु, बद्री अधिकारी, मधुर भट्टराई र ममता राई रहेका छन् ।

त्यस्तै अन्य कथाकारमा मसान उपासक, युवराज भट्टराई, रजनी ढुंगाना, राकेशकुमार वर्णवाल, राजेन्द्र तारकिणी, श्रेयज सुवेदी, सपना अधिकारी, सरस्वती सरस, सुधन सुवेदी र डा। सुरेन्द्र गैरे रहेका छन् ।

डिगो बाह्रखरी कथा लेखन प्रतियोगिताको आठौँ संस्करणका लागि गत भदौ ४ गते कथा आह्वान गरिएकोमा देश–विदेशबाट गरेर १२२९ कथा प्राप्त भएका थिए । प्राप्त कथामध्येबाट आन्तरिक निर्णायक समूहले ५० वटा कथा छनोट गरी कथाकार ढुङ्गानाको संयोजकत्वमा गठित मूल निर्णायक समूहलाई उत्कृष्ट २५ चयनका लागि उपलब्ध गराएको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन प्रथम, द्वितीय र तृतीय हुने कथाका कथाकारलाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

उत्कृष्ट २५ भित्रका बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ तथा प्रमाणपत्र सम्मानस्वरूप प्रदान गरिनेछ ।

यस वर्षको प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय कथाको नतिजासहित कथाकृति ‘उत्कृष्ट कथा २०८३’ यही मंसिर ६ गते काठमाडौंमा आयोजना गरिने विशेष समारोहबीच सार्वजनिक गरिनेछ ।

बाह्रखरी मिडियाले आयोजना गर्दै आएको कथा प्रतियोगिताको यस वर्ष टाइटल स्पोन्सर डिगो रहेको छ । सांस्कृतिक अभियानका लागि सूर्य नेपाल गाथाको साथ रहेको छ ।

गत वर्षझैँ यसपटक पनि उत्कृष्ट कथासंग्रहको प्रकाशन फाइनप्रिन्टले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्