३० कार्तिक २०८३, सोमबार

‘नमस्कार, मेरा चिनियाँ चिकित्सक’ शीर्षकको वृत्तचित्र सार्वजनिक

कोलोराडोखबर संवाददाता , November 16th, 2026

नेपाल । ‘नमस्कार, मेरा चिनियाँ चिकित्सक’ शीर्षकको वृत्तचित्र सार्वजनिक गरिएको छ ।

साइनो नेपाल मिडिया सोसाइटीको समन्वयमा चाइना मिडिया ग्रुप र एसियाली तथा अफ्रिकी भाषा कार्यक्रमद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपालमा कार्यरत १७औँ चिनियाँ चिकित्सक टोलीका प्रमुख डा. हुवाङ छन र बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले संयुक्त रूपमा वृत्तचित्र प्रदर्शनीको उद्घाटन गर्नुभयो ।

सो अवसरमा नेपालका लागि कार्यवाहक चिनियाँ राजदूत ची फानले शुभकामना सन्देश पठाउँदै काठमाडौँमा आयोजित ‘नमस्कार, मेरा चिनियाँ चिकित्सक’ वृत्तचित्र प्रदर्शनीले चिनियाँ स्वास्थ्यकर्मीहरूले जीवनरक्षा र उपचारका क्रममा भोगेका प्रेरक, न्यानो र सरल कथाहरू जनसमक्ष ल्याउन सफल भएको बताउनुभयो ।

उहाँले चिनियाँ मिडिया ग्रुपले निर्माण गरेको वृत्तचित्रमा सन् १९९९ देखि चीनको हेबेई प्रान्तले नेपालमा चिकित्सा टोली पठाउन सुरु गरेको इतिहास र हालसम्म १७ पटक गरी २९९ जना चिकित्सक पठाइसकेको वास्तविक कथासहित चिनियाँ चिकित्सकहरूको पेसागत समर्पण र महान् हृदयलाई उजागर गरिएको सन्देशमा उल्लेख छ ।

उक्त सन्देशमा नेपालको आर्थिक विकास र जनजीवन सुधारमा निरन्तर समर्थन गर्दै स्वास्थ्य क्षेत्रको सहकार्य चीन–नेपाल मैत्रीपूर्ण सहयोगको एक महत्त्वपूर्ण पाटो रहेको उल्लेख गरिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चीनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल निर्माण गरी सन् १९९९ देखि विशेषज्ञ चिकित्सकसमेत पठाएर नेपालको स्वास्थ्य सेवाको गुणस्तर बढाउन पुर्‍याएको योगदानलाई वृत्तचित्रले अभिलेख राख्न सफल भएको बताउनुभयो ।

उहाँले चिनियाँ चिकित्सक टोलीका प्रमुख डा। हुवाङ छनको नेतृत्वमा नेपालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले हाल चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा काठमाडौँस्थित निजामती कर्मचारी (सरकारी) अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराएर नेपाललाई सहयोग गरेको चर्चा गर्नुभयो ।

बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आफ्नो मातृभूमि र परिवारबाट टाढा रहेर स्थानीय अस्पतालहरूमा काम गर्दै क्लिनिकल उपचार, रोग रोकथाम, प्रविधि आदानप्रदान र प्रशिक्षणजस्ता क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहनुभएका विशेषज्ञ चिकित्सक टोलीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

नेपालमा चिकित्सा सहायता प्रदान गर्दाको अनुभव र अनुभूतिबारे चर्चा गर्दै चिनियाँ विशेषज्ञ टोलीका प्रमुख डा। हुवाङ छनले नेपालका लागि चिनियाँ चिकित्सा सहायता टोलीको सदस्यका रूपमा काम गर्दाका वास्तविक अनुभव, अनुभूति र मनका भावना साझा गर्न पाउँदा अत्यन्त गौरवान्वित महसुस भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिमाल पार गरेर नेपाल आइपुग्दा हामीले सबैभन्दा पहिले यहाँको सरल, आत्मीय र अतिथि सत्कारपूर्ण स्थानीय जीवनशैलीको अनुभव गर्‍यौँ । यहाँको सांस्कृतिक र भौगोलिक विविधताबीच नेपाली स्वास्थ्य सेवा प्रणालीले सामना गरिरहेका विभिन्न चुनौतीलाई पनि नजिकबाट बुझ्ने अवसर पायौँ ।

यहाँ चिकित्सा उपकरण तथा पूर्वाधारको सीमितता र विशेषज्ञ चिकित्सकहरूको उल्लेखनीय अभावका बीच हामीले सेवा प्रदान गरिरहेका छौँ ।”

साथै उहाँले थप्नुभयो, “एक चिनियाँ चिकित्सकका रूपमा यस भूमिमा पाइला टेक्दा हामीले केवल मानिसको जीवन बचाउने जिम्मेवारी मात्र बोकेका थिएनौँ, हामीसँग चीन र नेपालबीच हिमाल र नदीले जोडेको परम्परागत मित्रताको भावनात्मक जिम्मेवारी पनि थियो ।”

साइनो मिडिया नेपाल सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले यस वृत्तचित्रले चीनले नेपालका लागि स्वास्थ्य क्षेत्रमा गरेको सहयोग उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

वृत्तचित्रमा चिनियाँ चिकित्सकहरूले परम्परागत चिनियाँ चिकित्सापद्धतिमा आधारित हाडजोर्नी तथा चोटपटकको उपचार, नेपालका पहाडी तथा दुर्गम क्षेत्रका विपन्न वर्गका मानिसलाई शिविरमार्फत निःशुल्क स्वास्थ्य सेवा उपचारसहित उत्तर भारत, नेपालका सबै क्षेत्रका नागरिकका लागि प्रदान गरिएको विशेषज्ञ सेवाबारे छायाङ्कन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्