नेपाल । रास्वपाका सभापति रवि लामिछानेले यस वर्षको छठ पर्व जनकपुरधाममा सर्वसाधारण नागरिकको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन्।
सभापति लामिछानेले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सामान्य नागरिकको घरमा बसेर पर्वका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपाका नेता एवं सांसद मनिष झाले जानकारी दिए। उनका अनुसार लामिछाने आफ्नी श्रीमती निकिता पौडेल लामिछानेसहित परिवारका सदस्यहरूसँगै जनकपुर आउने तयारीमा छन्।
पत्नी निकिता पौडेल लामिछानेले खरनादेखि उदाउँदो सूर्यलाई दिइने बिहानको अर्घ्यसम्मका सम्पूर्ण विधिमा व्रत बसेर छठमा सहभागी हुने इच्छा व्यक्त गरेको नेता झाले बताए। राजनीतिक आग्रह र प्रभावबाट मुक्त रहन पार्टीका कुनै सदस्य वा तिनका आफन्तको घर नभई सामान्य सर्वसाधारण नागरिकको घर छनोट गर्न सभापति लामिछानेले आग्रह गरेको उनको भनाइ छ।
भ्रमणका क्रममा औपचारिक राजनीतिक कार्यक्रम नराखी सकेसम्म धेरै छठ घाटमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्ने तयारी भइरहेको झाले जानकारी दिए। विगतमा विवाहपञ्चमीलगायतका पर्वमा उच्चस्तरीय राजनीतिक सवारीका कारण व्यापार व्यवसाय प्रभावित भएको तथा सर्वसाधारणलाई असहज भएको अनुभवलाई ध्यानमा राख्दै यसपटक भीडभाड व्यवस्थापन र सहजतालाई प्राथमिकता दिइएको उनले बताए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्