१७ आश्विन २०८३, शनिबार

पितृस्मरण : सोह्रश्राद्धदेखि विश्वसभ्यताका विविध स्मृति-संस्कृतिसम्म

कोलोराडोखबर संवाददाता , October 3rd, 2026

– लक्ष्मण आचार्य-

१. पृष्ठभूमि : सोह्रश्राद्ध र पितृचेतनाको सांस्कृतिक दर्शन
अहिले आश्विन कृष्णपक्षको आगमनसँगै नेपाली हिन्दु समाजमा सोह्रश्राद्धको पितृ स्मरण गर्ने कार्य भइरहेको छ । सोह्र श्राद्धमा वर्षभरि आफ्नो दैनन्दिन जीवनमा व्यस्त मानिसहरू पितृपक्षको आगमनसँगै आफ्ना दिवङ्गत माता–पिता, हजुरबा–हजुरआमा तथा दिवङ्गत पुर्खाहरूको स्मरण गर्दै श्राद्ध, तर्पण र पिण्डदानमा संलग्न भइरहेका छन् । हिन्दु धार्मिक मान्यताअनुसार सोह्र श्राद्धमा पितृपक्ष पितृप्रति श्रद्धा, कृतज्ञता र उत्तरदायित्व व्यक्त गर्ने गरिन्छ । कुश, तिल, जल, अन्न र पिण्डको अर्पणमार्फत दिवङ्गत आत्माको शान्ति र मोक्षको कामना गरिन्छ। कतिपय परिवारले ब्राह्मण भोजन, दान तथा परोपकारी कार्यलाई पनि यसैको अभिन्न अङ्ग बनाउँछन्।
तर पितृस्मरणको यो परम्परा हिन्दु धर्म वा पूर्वीय सभ्यतामा मात्र सीमित छैन। विश्वका विभिन्न भूगोल, धर्म र संस्कृतिमा दिवङ्गत पुर्खा तथा आफन्तको सम्झना गर्ने विभिन्न विशिष्ट पर्व र अनुष्ठान प्रचलित छन्। कतै मृतात्माको मोक्षको कामना गरिन्छ, कतै समाधिस्थलमा दीप बालिन्छ, कतै पुर्खालाई घरमा स्वागत गरिन्छ त कतै मृत्युको स्मृतिलाई रङ्गीन उत्सवमा रूपान्तरण गरिन्छ।

यसरी हेर्दा सोह्रश्राद्ध केवल एउटा धार्मिक अनुष्ठान होइन, विश्वमानवको साझा भावनात्मक तथा सांस्कृतिक चेतनासँग संवाद गर्ने एउटा महत्त्वपूर्ण प्रवेशद्वार पनि हो ।

२. पूर्वीय दर्शन : पितृऋण, मोक्ष र आध्यात्मिक उत्तरदायित्व
हिन्दु दर्शनमा देवऋण, ऋषिऋण र पितृऋणको अवधारणा पाइन्छ। पितृऋणले मानिसको अस्तित्वमा पुर्खाको योगदानप्रतिको कृतज्ञतालाई दार्शनिक आधार प्रदान गर्छ। नेपाल र भारतमा प्रचलित श्राद्ध, तर्पण, पिण्डदान तथा गया श्राद्ध यसै मान्यतासँग सम्बन्धित छन्। नेपालमा कुशे औँसीले जीवित पिताको सम्मान र दिवङ्गत पिताको स्मरणलाई एकै सांस्कृतिक वृत्तमा समेटेको छ।

बौद्ध संस्कृतिमा भने दान, करुणा र पुण्य समर्पणको माध्यमबाट दिवङ्गतप्रति सद्भाव व्यक्त गर्ने परम्परा रहेको पाइन्छ। कम्बोडियाको पचुम बेन र भियतनामको भु लान पर्वले दिवङ्गत आफन्तको कल्याणसँगै जीवित माता–पिताप्रतिको कर्तव्यलाई पनि महत्त्व दिन्छन् । यसरी पूर्वीय संस्कृतिमा पितृस्मरण धार्मिक आस्थासँगै नैतिक उत्तरदायित्व र पुस्तान्तरणको अवधारणासँग गाँसिएको देखिन्छ ।

३. चीन र जापान : पुर्खासँगको प्रतीकात्मक पुनर्मिलन
चीनको छिङमिङ पर्वमा मानिसहरू पुर्खाका समाधिस्थल सफा गर्न, फूल चढाउन, धूप बाल्न र खाद्य सामग्री अर्पण गर्न पुग्छन्। कतिपय परिवारमा प्रतीकात्मक कागजी मुद्रा जलाउने परम्परा पनि छ । यस पर्वले पुर्खाप्रतिको सम्मानलाई पारिवारिक स्मृति र सांस्कृतिक निरन्तरतासँग जोडेको छ।

जापानको ओबोन पर्वमा पुर्खाका आत्मा घर फर्कन्छन् भन्ने परम्परागत विश्वास रहेको पाइन्छ । उक्त दिन आफ्नो पितृको स्मरणमा घरमा दीप वा आगो बालेर आत्माको स्वागत गरिन्छ। बोन ओडोरी नृत्य, पारिवारिक भेटघाट र समाधिस्थलको सरसफाइ यसका महत्त्वपूर्ण पक्ष हुन् । यस पर्वको अन्त्यमा लालटिन वा अन्य प्रतीकात्मक विधिमार्फत पुर्खाका आत्मालाई बिदाइ गरिन्छ।

यी दुवै परम्पराले मृत्यु र जीवनबीचको सम्बन्धलाई स्मृति, पारिवारिक आत्मीयता र प्रतीकात्मक पुनर्मिलनको माध्यमबाट अभिव्यक्त गरेका छन् ।

४. कोरिया र दक्षिणपूर्वी एसिया : पारिवारिक एकता र पुण्यको संस्कृति
दक्षिण कोरियाको चुसेक पर्व बाली भित्र्याउने उत्सव मात्र होइन, पुर्खाप्रतिको सम्मान र पारिवारिक एकताको महत्त्वपूर्ण अवसरका रही आएको छ । यस अवसरमा परिवारका सदस्यहरू पुर्खाको समाधिस्थलमा पुग्छन्, चिहान सफा गर्छन् र चारे नामक निश्चित विधिबाट आफ्ना दिवङ्गत पितृप्रति खाद्य सामग्री अर्पण गर्छन्। परम्परागत परिकार सोंगप्योन तयार पार्ने र पारिवारिक भोज गर्ने प्रचलनले पुस्ताबीचको सम्बन्धलाई जीवन्त राख्छ।

भियतनामको भु लान पर्वमा मातापिताप्रतिको कृतज्ञता र दिवङ्गत आत्माको कल्याणलाई विशेष महत्त्व दिइन्छ। कम्बोडियाको पचुम बेनमा बौद्ध विहारमा गई भिक्षुलाई भोजन तथा दान दिने परम्परा रही आएको छ । यसरी दिवङ्गत पुर्खाका लागि पुण्य कार्य गर्ने गरिन्छ। यी परम्पराले पितृस्मरणलाई पारिवारिक भावनाबाट विस्तार गरी सामाजिक करुणा, दानशीलता र आध्यात्मिक उत्तरदायित्व आदिसँग जोडेको पाइन्छ ।

५. पश्चिमी संसार : प्रार्थना, समाधि र स्मृतिको संस्कार
युरोपेली इसाई संस्कृतिमा नोभेम्बर १ को अल सेन्ट्स डे र नोभेम्बर २ को अल सोल्स डे विशेष महत्त्वका दिन हुन् । उक्त संस्कृतिको पहिलो दिन सन्तहरूको सम्मानमा समर्पित छ भने दोस्रो दिन दिवङ्गत आत्माका लागि प्रार्थना गरिन्छ। विशेषतः क्याथोलिक समुदायमा समाधिस्थलमा फूल चढाउने, मैनबत्ती बाल्ने र चर्चमा प्रार्थना गर्ने परम्परा छ।

यहुदी धर्ममा यार्जाइटले मृत्युको वार्षिकोत्सवलाई स्मरणको अवसर दिलाउँछ। यस दिन घरमा दीप प्रज्वलन गर्ने गरिन्छ, प्रार्थना गरिन्छ र दिवङ्गतका सत्कर्म सम्झिइने परम्परागत रहेको छ । त्यसैगरी इस्लाममा कब्र जियारत र दुआमार्फत दिवङ्गत आफन्तका लागि क्षमा तथा ईश्वरीय कृपाको कामना गरिन्छ । यद्यपि यी धर्ममा पितृपूजाको स्वरूप र मृत्युपछिको अस्तित्वसम्बन्धी विश्वास फरक भए पनि दिवङ्गतप्रतिको सम्मान र स्मृतिको महत्त्व रहेको भने स्पष्ट देखिन्छ ।

६. मेक्सिको र ल्याटिन अमेरिका : मृत्युको रङ्गीन उत्सव
मेक्सिकोको दिया दे लोस मुयर्तोस अर्थात् मृतक दिवस मृत्यु र स्मृतिलाई जीवन्त उत्सवमा रूपान्तरण गर्ने विशिष्ट सांस्कृतिक पर्व हो। नोभेम्बर १ र २ मा मनाइने यस पर्वमा परिवारले दिवङ्गत आफन्तका तस्बिर, गेंदा फूल, मैनबत्ती, खाद्य सामग्री र प्रिय वस्तु राखेर ओफ्रेन्दा नामक स्मृतिवेदी सजाउँछन्। समाधिस्थलमा गएर फूल चढाउने, सामूहिक भोज गर्ने र दिवङ्गतका जीवनकथा सुनाउने परम्परा पनि छ।
इक्वेडरमा मनाइने दिया दे लोस दिफुन्तोसमा समाधिस्थल भ्रमण, पारिवारिक जमघट र कोलाडा मोरादा तथा ग्वाग्वास दे पानजस्ता परम्परागत परिकारको विशेष महत्त्व छ।

यी पर्वमा मृत्युलाई केवल शोकको विषयको रूपमा नलिई पितृहरूको स्मृति, आत्मीयता, जीवनोत्सव र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा लिइन्छ । यसले मृत्युप्रतिको भयलाई आत्मीय स्मरणमा रूपान्तरण गर्ने मानवको सिर्जनात्मक पक्षलाई उजागर गर्छ ।

७. अफ्रिका तथा आदिवासी संस्कृति : पुर्खा र जीवित पुस्ताबीचको सम्बन्ध
अफ्रिकाको माडागास्करको फामादिहाना विश्वका विशिष्ट पितृस्मरण परम्परामध्ये एक हो। यसलाई हड्डी फेर्ने पर्व पनि भनिन्छ। यस अवसरमा परिवारका सदस्यले पुर्खाका अवशेषलाई समाधिबाट निकालेर नयाँ कपडामा बेर्छन्। परम्परागत सङ्गीत, नृत्य र सामूहिक भोजका माध्यमबाट दिवङ्गत आफन्तप्रति आत्मीयता व्यक्त गरिन्छ।

त्यसै गरी इन्डोनेसियाको तोराजा समुदायमा प्रचलित मानेनेमा पनि पुर्खाका शव वा अवशेषलाई सफा गर्ने, नयाँ वस्त्र पहिराउने र सम्मान प्रकट गर्ने परम्परा रहेको छ । अफ्रिकाका विभिन्न समुदायमा पुर्खाका नाममा लिबेसन अर्थात् तरल पदार्थ अर्पण गर्ने, सामूहिक नृत्य गर्ने र मौखिक इतिहास सुनाउने प्रचलन रहेको पाइन्छ।
यी संस्कृतिमा पुर्खा केवल अतीतका पात्र नभएर जीवित समुदायको सांस्कृतिक पहिचान, वंशपरम्परा र सामूहिक चेतनाका अभिन्न अङ्गका रूपमा चित्रित गरिन्छ ।

८. पितृस्मरणको मानवशास्त्रीय तथा दार्शनिक अर्थ
विश्वका यी विविध परम्परालाई तुलनात्मक दृष्टिले अध्ययन गर्दा पितृस्मरणका तीनवटा आधारभूत आयाम रहेका देखिन्छन् । पहिलो, पुर्खाप्रतिको कृतज्ञता र सम्मान । दोस्रो, मृत्यु र जीवनको निरन्तरतासम्बन्धी धार्मिक तथा सांस्कृतिक विश्वास । तेस्रो, पारिवारिक स्मृति र सामाजिक पहिचानको संरक्षण ।

धर्मले मृत्युपछिको अस्तित्वलाई आत्मा, पुनर्जन्म, मोक्ष, स्वर्ग वा परलोकका अवधारणाबाट व्याख्या गरेको छ । अर्कोतर्फ मानवशास्त्रीय दृष्टिले पितृस्मरणलाई सामूहिक स्मृति, सामाजिक सम्बन्ध र सांस्कृतिक निरन्तरताको प्रक्रियाका रूपमा बुझ्न सकिन्छ । यस्ता पर्व तथा संस्कृतिले शोकको सामूहिक अभिव्यक्ति, पारिवारिक पुनर्मिलन, दानदातव्यको संस्कार र पुस्तान्तरणमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँछन् ।

यद्यपि सबै संस्कृतिमा पितृस्मरणको स्वरूप समान प्रकृतिको छैन । कतिपय परम्परामा धार्मिक कर्मकाण्ड प्रधान छन् भने कतिपयमा ऐतिहासिक स्मृति, सामुदायिक उत्सव वा पारिवारिक आत्मीयता बढी महत्त्वपूर्ण रहेको पाइन्छ । यही विविधताले मानव सभ्यताको सांस्कृतिक बहुलतालाई प्रकट गर्दछ ।

९. निष्कर्ष :
हिन्दु संस्कृतिको सोह्रश्राद्धको तर्पणदेखि जापानको ओबोन, चीनको छिङमिङ, मेक्सिकोको दिया दे लोस मुयर्तोस र माडागास्करको फामादिहानासम्म आइपुग्दा एउटा गहिरो मानवीय सत्य उद्घाटित हुन्छ : मानिस आफ्नो वर्तमानमा मात्र सीमित छैन, ऊ आफ्ना पुर्खाको इतिहास र भावी पुस्ताको सम्भावनासँग पनि कुनै न कुनै रूपमा गाँसिएको छ ।

पितृस्मरणको वास्तविक अर्थ अतीतप्रति अन्धआसक्ति राख्नु मात्र होइन, पुर्खाबाट प्राप्त ज्ञान, संस्कार र जीवनमूल्यको विवेकपूर्ण मूल्याङ्कन गर्नु पनि हो । यस्ता संस्कृति एवम् परम्पराहरूको संरक्षणसँगै समयसापेक्ष पुनर्व्याख्या गर्नु पनि उत्तिकै आवश्यक छ।

कसैको मृत्युले उसको शरीरलाई विस्थापित त गर्छ, तर स्मृतिलाई बिस्थापित गर्न भने सक्दैन । पुर्खाको वास्तविक उपस्थिति उनीहरूका नाममा गरिने अनुष्ठानमा मात्र नभई उनीहरूले हस्तान्तरण गरेका मूल्य, विचार र संस्कारको निरन्तरतामा रहन्छ।

यस अर्थमा पितृस्मरण मृतकको स्मृतिमा सीमित धार्मिक कर्म मात्र होइन, यो त जीवनको क्षणभङ्गुरता, सम्बन्धको गहिराइ र मानव सभ्यताको सामूहिक आत्मचिन्तनको एउटा विराट सांस्कृतिक आख्यान हो भन्न सकिन्छ ।
( यो लेख इन्टरनेटको विभिन्न माध्यमबाट खोज गरी तयार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्