नेपाल । पत्रकार एवं लेखक सुशीला तामाङको अध्ययन अनुसन्धानमा तयार गरिएको पुस्तक ‘डम्फु सेलो शतक यात्रा’ लोकार्पण भएको छ ।
पूर्वमन्त्री परशुराम वाइबा तामाङ, पूर्वमन्त्री सूर्यमान दोङ, तामाङ संस्कृतिविद् बुद्धिबहादुर ङ्यासुर तामाङ, कवि बिना थिङ, सेलो गायक रोजबहादुर मोक्तान, लेखक रवीन्द्र तामाङलगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।
डम्फु सेलोद्वारा आयोजित कार्यक्रममा पूर्वमन्त्री तामाङले पुस्तकमा तामाङ समुदायको संस्कार संस्कृतिसँगै डम्फु सेलो कार्यक्रमको योगदानलाई अभिलेखीकरण गरेको बताउनुभयो । तामाङ संस्कृतिविद् बुद्धिबहादुरले पुस्तकमा समेटिएको विषयवस्तुले सेलो भाकालाई नयाँ युगलाई चिनाउने विचार व्यक्त गर्नुभयो ।
यसै गरी कवि थिङले डम्फु सेलो कार्यक्रममा गीतका भाकामा समेटिने विषयवस्तुलाई मसिनो गरी केलाइएको चर्चा गर्नुभयो । गायक मोक्तानले डम्फू सेलो शृङ्खलामा गीत गाउँदा शब्द चयनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सो पुस्तकको सम्पादन अध्येता कैलाश राईले गर्नुभएको हो । हरेक शुक्रबार इन्डिजिनियस टेलिभिजन र जिग्मे मिडियाको युट्युब च्यानलबाट प्रसारण भइरहेको डम्फु सेलो कार्यक्रमले समुदायको प्रचलित सेलो भाका, लयको गीतमार्फत प्रवर्धन गर्दै आएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्