१ मंसिर २०८३, मंगलवार

अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले छठ पर्व मनाए

कोलोराडोखबर संवाददाता , November 17th, 2026

अमेरिका । अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले छठ पर्व मनाएका छन् । एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा चिपिङ नोर्टनस्थित सिड्नी छठघाटमा दुईदिने छठ महोत्सव आयोजना गरिएको हो । आइतबार साँझदेखि सोमबार बिहानसम्म भएको थियो ।

एनआरएन आईसीसीका सहकोषाध्यक्ष अरुणकुमार ठाकुरले यस वर्षको छठ कार्यक्रम हर्षोल्लासका साथ अस्ट्रेलियाका विभिन्न सहरमा मनाइएको बताए । उनका अनुसार, पूजामा सहभागी हुन दुई हजारभन्दा बढी श्रद्धालु भेला भएका थिए ।

कार्यक्रममा स्थानीय नगरप्रमुख, समुदायका अगुवा तथा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । सबैको सहभागिताले नेपाली समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक एकतालाई थप बलियो बनाएको संस्थाका अध्यक्ष सुजित सिंहले बताए ।

नेपालको तराई–मधेस क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पर्व पछिल्लो समय अस्ट्रेलियाका विभिन्न सहरमा रहेका नेपाली समुदायले पनि मनाउँदै आएका छन् ।

सामूहिक रूपमा आयोजना हुने यस्ता कार्यक्रमले विदेशमा रहेका नेपालीलाई आफ्नो भाषा, संस्कृति र धार्मिक परम्परासँग जोड्ने एन्टाका पूर्वअध्यक्ष रञ्जित साहले बताए ।

महोत्सवको पहिलो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै विशेष पूजा आराधना गरिएको थियो । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको मुख्य धार्मिक अनुष्ठान सम्पन्न भएको थियो । श्रद्धालुहरू परम्परागत विधिअनुसारका पूजा सामग्रीसहित घाटमा उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्