नेपाल । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते आयोजना गर्न लागेको राष्ट्रिय भेलामा देशभरबाट ३ हजार ५१४ जना प्रतिनिधि सहभागी हुने भएका छन्।
पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका पदाधिकारी तथा निर्वाचित जनप्रतिनिधिसम्मलाई एउटै मञ्चमा उतार्ने गरी एमालेले महाधिवेशनपछिकै सबैभन्दा ठूलो भेला गर्न लागेको हो।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख नीरज आचार्यले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार ललितपुरस्थित हाइटफिल्ड क्याटरिङ ब्याङ्क्वेटमा मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भेलाको उद्घाटन गर्ने कार्यक्रम छ।
पार्टीको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व तथा सङ्घीय सांसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुन लागेका हुन्। आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्ने, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्ने तथा वैचारिक र सङ्गठनात्मक एकतालाई थप सुदृढ बनाउने भेलाको मुख्य उद्देश्य रहेको आचार्यले बताए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्