११ भाद्र २०८३, बिहीबार

भोटेकोशीको बाढी: रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीपूर्वसम्म प्रभावित

कोलोराडोखबर संवाददाता , August 27th, 2026

नेपाल । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीपहिरोले अकल्पनीय जनधनको क्षति पुर्याएको छ । रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीपूर्वसम्म प्रभावित भएको छ । बाढीमा परी मृत्यु भएका १५७ जनाको शव फेला परेको छ ।

गृह मन्त्रालयका अनुसार हालसम्म चितवनमा ६४, धादिङमा २७, नुवाकोटमा १३, गोरखामा १९, तनहुँमा नौ, रसुवामा तीन र नवलपरासीपूर्वमा २२ जनाको शव फेला परेको छ । विभिन्न स्थानमा खोज तथा उद्धार जारी छ ।

सम्पर्कविहीन र बेपत्ता व्यक्तिको सङ्ख्या अत्यधिक रहेकाले मृतकको सङ्ख्या निकै बढ्ने अनुमान सुरक्षा निकायले गरेको छ । बाढीमा परी घाइते ९३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उद्धार कार्यमा राज्यका सबै संयन्त्र परिचालन गरिएको छ ।

बाढीपछि नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरीका नौ जना गरी ८१ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन् । रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ र वेत्रावतीमा तैनाथ सैनिकहरू सम्पर्कविहीन छन् । ती स्थानमा बाढीले अकल्पनीय क्षति पुर्याएको छ । सम्पर्कविहीन सुरक्षाकर्मीलगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोजी तथा उद्धार कार्य जारी छ  ।

बाढीले बस्ती, बजार, सडक, पुल, जलविद्युत् आयोजना तथा सुरक्षा निकायका संरचनामा पनि ठुलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएका छन् । बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका सात र निजी क्षेत्रका आठ गरी १६ वटा हेलिकोप्टर निरन्तर खोज तथा उद्धारमा परिचालन भइरहेका छन् ।

सेनाले हवाईसाधनबाट ९६ जना र स्थलमार्गबाट २६ गरी १२१ जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पु¥याएको जनाएको छ । निजी क्षेत्रका आठ वटा हेलिकोप्टरले २९ जनाको उद्धार गरेका छन् ।

बेपत्ताको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थल तथा हवाईसाधनसहित, ड्रोन तथा तालिमप्राप्त कुकुरसहितको के–९ टोली परिचालन गरेका छन् । बाढीबाट तटीय क्षेत्रका घर, पसल, सडक, पुल तथा नदी किनारका संरचना तहसनहस भएका छन् ।

बाढीमा परी बेपत्ता नागरिकको खोज र उद्धारमा १३ वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाली सेना र निजी क्षेत्रका गरी १३ हेलिकोप्टर परिचालन भएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्