६ भाद्र २०८३, शनिबार

गजल

कोलोराडोखबर संवाददाता , August 22nd, 2026

-आर. आर. चौलागाईं-
खबरदार ! तपाईँ जे पायो त्यही नलेख्नुहोला
सज्जन मान्छेहरूलाई भ्रष्टाचारी नभन्नुहोला ।

देश बनाउन भोकतिर्खा नभनी खटेका छन्
तपाईँ उनीहरूलाई कैले तनाव नदिनुहोला ।

हामीले के गरेका छौँ र एक भोट दिएका हौँ
जितेर जानेहरूलाई गालीगलौज नगर्नुहोला ।

बिचरा ! कामले गर्दा सुकेर सिट्ठो भएका छन्
बरु आफूले अलिकति काँध थापिदिनुहोला ।

आज हेर्नोस् त हाम्रो ठाउँ स्वर्ग भैसकेको छ
ती महापुरुषलाई फूलमालाले सिँगार्नुहोला ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्