२६ बैशाख २०८३, शनिबार

बाबुरामद्वारा पार्टी परित्याग, सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश

कोलोराडोखबर संवाददाता , May 9th, 2026

नेपाल । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईले सो पार्टी छोड्नुभएको छ ।

पार्टीले शुक्रबार आयोजना गरेको बैठकमा बाबुरामले पार्टीमा नरहने घोषणा गरेको प्रलोपाका अध्यक्ष सन्तोष परियारले जानकारी दिनुभयो ।

अध्यक्ष परियारले बाबुराम राजनीतिक रूपमा पार्टीमा सक्रिय नभएर सैद्धान्तिक, वैचारिक र लेखन कार्यमा सक्रिय हुने बताउनुभयो । तत्कालीन माओवादी जनयुद्धमा नेतृत्व तहमै रहेका बाबुराम नयाँ शक्ति, मधेशकेन्द्रित दल हुँदै प्रलोपाको संरक्षक हुनुभएको थियो । प्रलोपाले तत्काल महाधिवेशन गरेर विचार मिल्ने पार्टीसँग एकता गरेर जाने निर्णय गरेको छ ।

यस्तै पूर्वमन्त्री सुदन किराँती प्रलोपा छाडेपछि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । शुक्रबार काठमाडौँमा पार्टी प्रवेश कार्यक्रम राखेर अध्यक्ष साम्पाङले उहाँलाई वरिष्ठ नेताको जिम्मेवारी दिँदै प्रवेश गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्