नेपाल । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले उहाँहरूलाई पक्राउ गर्न अनुमति दिएको हो ।
गत भदौ २३–२४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौँको बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी र तोडफोड भएको थियो । सोही क्रममा जलेको अवस्थामा फेला परेका विदेशी मुद्रा र नेपाली रुपियाँको स्रोतबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको थियो ।
विभागले सङ्कलन गरेका नमुना र प्रारम्भिक अनुसन्धानका आधारमा अदालतबाट पक्राउ अनुमति लिइएको उच्च स्रोतले जनाएको छ ।
देउवा दम्पती हाल मुलुक बाहिर रहेकाले उहाँहरूलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत प्रक्रिया अघि बढाउने तयारी गरेको छ । गृह मन्त्रालय स्रोतले पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै आवश्यक कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा पत्राचार भइसकेको जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्