नेपाल । कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः सामान्य बन्दै गएको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति एक कैदीको मृत्यु र ४७ जना घाइते हुने गरी भएको झडपपछि उत्पन्न परिस्थिति सामान्य बन्दै गएको जनाएको हो ।
उक्त घटनाको छानबिन गर्न गठित समितिका सदस्य सचिव एवं प्रशासकीय अधिकृत शिवराज जोशीले अवस्था सामान्य बन्दै गएको र घटनाको पुनरावृत्ति हुन नपाओस् भनेर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको बताए ।
राष्ट्रिय मानवअधिकार आयोगको टोलीको सहजीकरणमा आज कारागारका कर्मचारी र प्रहरीसहितको टोलीले कारागारभित्रका कैदीबन्दीको अवस्था र सङ्ख्या यकिन गरेर फर्किएको उनले बताए ।
शुक्रबार भएको झडपबाट घाइते भएका धनगढी उपमहानगर–४ का ३६ वर्षीय भरत चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा गम्भीर घाइते भएका दुईजनाको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । गम्भीर घाइते अर्का एकजनालाई शनिबार नै थप उपचारका लागि काठमाडौँ लगिएको थियो । अन्य घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
कारागारमा गएको बिहीबार पनि कैदीबीच हानाहान भएको थियो। त्यसअघि गत असार २८ गते पनि कारागारमा कैदीबीच कुटाकुट भएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्